निर्माणाधीन भवनको खाल्डोमा डुबेर एकको मृत्यु



जाजरकोट : भेरी नगरपालिकाको निर्माणाधीन भवनको खाल्डोमा डुबेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका–१ मैदेका अन्दाजी ४५ वर्षीय लोकबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सदरमुकाम खलङ्गामा लामो समयदेखि ज्याला मजदुरी गर्दै आएका राना मदिरा सेवन गरेको अवस्थामा लिफ्टका लागि बनाएको खाडलमा डुबेको आशङ्का गरिएको छ । भवनको फिनिसिङका लागि निर्माण व्यवसायीले सोही खाल्डोमा पानी जम्मा गरेर राखेका थिए ।

खाल्डोमा करीब सात फिट पानी थियो । बुधबार बेलुका पानीभित्रबाट मृतावस्थामा प्रहरीले उनको शव निकालेको हो । उनी मङ्गलबार राति डुबेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्