अध्यक्ष तामाङको सिभिल बैंक डुबाउन खेल



काठमाडौं : जग्गा कारोबारमा लागेका व्यवसायी इच्छाराज तामाङले गैरकानुनी ढंगले सिभिल बैंक र सिभिल सहकारीको रकम चलाइरहको रहस्य खुलेको छ । तत्कालिन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीले यसैगरी बैंकलाई डुवाएका थिए । त्यस्तैगरी तामाङले पनि सिभिल बैंकलाई डुवाउने गरी आफू खुशी बैंकको ठूलो रकम आफ्नो व्यवसायमा लगायपछि सञ्चालक र शेयरधनीहरुले असन्तुष्टि र चिन्ता प्रकट गरेका छन् । अध्यक्ष तामाङले सिभिल बैंकसँगै सिभिल सहकारी र सिभिल क्यापिटल समेत डुबाउने गरी आर्थिक हिनामिना गरेको शेयरधनीहरुको आरोप छ ।

तामाङको यस्तै हकत रहिरहे बैंक डुब्न सक्ने चिन्ताले शेयरधनीहरुलाई पिरोलेको छ । कुनैबेला चर्चित व्यवसायीका रुपमा रहेका तामाङ त्यहि अवसरलाई बेचेर तत्कालिन नेकपा एमालेको सांसद बन्न समेत सफल भएका थिए । पछिल्लो पटक आर्थिक संकटमा पदै गएका तामाङले उक्त आर्थिक संकटबाट उक्सिन बैंक र सहकारीलाई डुबाउने गरी गैरकानुनी ढंगले रकम चलाइरहेका छन् । अध्यक्षका हैसियतले बैंकको रकम चलाउन नमिल्ने भएपछि घुमाउरो ढंगले उनले सहकारी र क्यापिटललाई प्रयोग गरी आफ्नो धन्दा चलाइरहेका छन् ।

बैंकका अध्यक्ष रहेका तामाङको यस्तो धन्दाका विषयमा राष्ट्र बैंकमा समेत उजुरी पुगेको बताइन्छ । पछिल्लो पटक जग्गा कारोबारबाट ठूलो क्षति व्यहोरेका तामाङको सम्पत्ती शुद्धिकरण विभागदेखि राजश्व अनुसन्धान विभागले समेत सुक्ष्म निगरानी गरिरहेको छ ।

तामाङले सिभिल बैंकको रकम अध्यक्ष पदको दुरुपयोग गर्दै सिभिल सहकारीमा जम्मा गरी सहकारीबाट आफूले प्रयोग गरिरहेको बैंकका एक अधिकृतको भनाइ छ । यसो गर्दा बैंकको वित्तिय अनुसाशनहीनता बढेको कर्मचारीहरु बताउँछन् ।

बैंकले सहायक कम्पनी सिभिल क्यापिटलमा पूँजी लगानी गरेको छ । क्यापिटलले बैंकले हालेको पैसा सहकारीमा जम्मा गरेको छ । तामाङले बैंककै सहायक कम्पनीमा पूँजीका रुपमा जम्मा गरेको पैसा आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेको तथ्य पनि बाहिर आएको छ ।

क्यापिटलमा बैंकको ७० प्रतिशत लगानी छ । बैंकले क्यापिटलमा लगानी गरेको पूँजी रकम सिभिल बचत तथा ऋण सहकारी संस्थामा निक्षेपका रुपमा जम्मा गरिएको छ । त्यो निक्षेप तामाङले मनपरी ढंगले आफैँले व्यक्तिगत रुपमा प्रयोग गरिरहेको बताइन्छ । तामाङले १० करोड रुपैयाँ यसरी प्रयोग गरेको स्रोतको दाबी छ । सिभिल क्यापिटलको चुक्ता पूँजी २१ करोड २५ लाख रुपैयाँ छ । क्यापिटलमा बैंकको १४ करोड ८७ लाख रुपैयाँ लगानी छ । बैंकका अध्यक्ष रहेका तामाङ केही समय अघिसम्म क्यापिटलको पनि सञ्चालक थिए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले क्यापिटलले सहकारीमा पैसा लगेर राख्न नपाउने भन्दै यसरी गैरकानुनी ढंगले राखेको पाइए कारबाही हुने बताए । प्रवक्ता निरौलाले क्यापिटलले आफ्नो पूँजी सहकारीमा जम्मा गरेको छ भने यसलाई नेपाल धितोपत्र बोर्डले हेरेर कारबाही गर्ने बताए । बोर्डले यस विषयमा अध्ययन गर्ने जनाएको छ ।

वित्तीय संकटबाट उम्किन उनले श्रीमतीको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर समेत बिक्री गरेका तामाङले केही समयअघि सुन्धारास्थित होटलमा रुपान्तरण गरिएको अपार्टमेन्ट पनि बिक्री गरेका थिए । उनले भर्खरै कीर्तिपुरमा रहेको दुई रोपनी जग्गा समेत बिक्री गरिसकेका छन् ।

आर्थिक संकटमा फस्दै गएका तामाङमाथि घुमाउरो पाराले दिएको ऋणका कारण क्यापिटलसहित बैंकको पूँजी पनि डुब्न सक्ने अवस्था रहेको स्रोतहरुको दाबी छ । बैंक र क्यापिटलको पूँजी डुब्न नदिन बोर्ड र राष्ट्र बैंकले आवश्यक अनुसन्धान गरी तत्कालै सिभिल क्यापिटलमाथि कारबाहीको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्