सी नआउँदै चार सयलाई ‘स्पेसल असाइन्मेन्ट’ : दलाइ निकट व्यापारी, पत्रकार र सत्तारुढ नेतामाथि कडा निगरानी



काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन फिङ नेपाल आउने भएपछि चिनियाँ सरकारको आग्रहमा दलाई लामा निकट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै पूर्वमन्त्री समेत रहेका केन्द्रीय नेता र केही सांसद, पत्रकार तथा व्यापारीमाथि सुरक्षा निकायले विशेष निगरानी शुरु गरेको छ । यसका लागि गोप्य ढंगले सुरक्षा निकायले संयुक्त रुपमा ‘स्पेशल टास्क फोर्स’ गठन गरेका छन् ।

गठन भएको ‘स्पेशल टास्क फोर्स’ले राष्ट्रपति सी जिन फिङको भ्रमण अवधिभरको सुरक्षा रणनीति तयार गर्ने र सो अनुरुप लागू गर्नेछ । नेपाली सेनाको मिलिट्री इन्टिलिजेन्स (डीएमआई), नेपाल प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा र काठमाडौं प्रहरी, सशस्त्रको गुप्तचर इकाई र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले सीको नेपाल भ्रमणका सम्भावित सुरक्षा चुनौती संकलन गरिरहेका छन् ।

अहिले राष्ट्रपति सी भ्रमणमा आउनु पूर्व ८० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिने योजना सुरक्षा निकायले बनाइहरको छ । यस्तै तिब्बती शरणार्थी, तिब्बती सीमा नाका र गुम्बाहरूमा पनि कडाई गरिनेछ ।

नेपाल प्रहरीका उच्च अधिकारीहरुका अनुसार पहिलो श्रेणीमा सक्रिय देखिएका ८० भन्दाबढी व्यक्तिलाई सीको भ्रमणअघि नियन्त्रणमा लिने र बौद्ध र स्वयम्भुमा विभिन्न धार्मिक संगठन तथा सामाजिक संस्थाका नाममा हुने चीन विरोधी गतिविधिमा सक्रियहरुको अर्को सूची तयारी पारी त्यही अनुसार सुरक्षा प्रवन्ध मिलाउने तयारी छ ।

सी कै भ्रमण दृष्टिगत गरी प्रहरी र सशस्त्रले तिब्बतसँगका सीमा नाकामा विशेष कडाइ गरिरहेका छन् । प्रहरीले त्यस्ता संघसंस्थाको कार्यसमितिमा रहेका एवं सल्लाहकार समूहमा रहेकाहरुको निगरानी बढाएको हो । ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर र रसुवाका अति ग्रामीण भेगमा रहेका गुम्बाहरुमा समेत प्रहरी निगरानी बढाइएको छ ।

‘उच्च तहको यो भ्रमण सम्पूर्ण तवरले सुरक्षित बनाउने राणनीतिअनुसार काम भइरहेको छ’, प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले भन्यो, ‘आवश्यकता परे सूचीमा रहेका व्यक्तिहरूलाई प्रहरीले तत्काल नियन्त्रणमा लिनेछ ।’

प्रहरी स्रोतका अनुसार हाल नेपालमा चिनियाँ बौद्ध धर्मगुरु र तिब्बती धर्म गुरुहरुका बेग्लाबेग्लै धार्मिक गतिविधि सञ्चालित छन् । तिब्बती धर्म गुरुका गतिविधि कुनै पनि समय चीन विरोधीमा परिणत हुनसक्ने विश्लेषण सुरक्षा निकायले गरेको छ ।

‘यसका लागि फरक–फरक टोली परिचालन भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर प्रहरीका इकाईले तिब्बती गुरु तथा गुम्बाका गतविधि निगरानी गरिरहेका छन्’, स्रोतले भन्यो ।

अहिले संकलन भइरहेका चार वटै सुरक्षा निकायका विवरण अन्तिममा गृह मन्त्रालय पुग्नेछ । नेपाली सेनाका प्रतिनिधिसहित रहने गृहको बैठकले सी को सुरक्षाका चुनौतीहरुको निष्कर्ष निकाल्नेछ । त्यो अनुसार सुरक्षाकर्मी परिचालन हुनेछन् ।

गृह मन्त्रालय श्रोतका अनुसार ‘पहिलो चरणको सूचना संकलनमा चारै सुरक्षा निकायका गरी चार सयबढी अधिकारी परिचालन भएका छन् । उनीहरुले ल्याएको सूचना विश्लेषणपछि सादा पोशाकमा सुरक्षा खटाउने सहितका कामहरु हुनेछन् ।’

राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणका लागि चारै सुरक्षा निकायका गुप्तचर इकाई सक्रिय पारिएको छ । उनीहरुले गोप्य रुपमा ‘स्पेसल असाइन्मेन्टमा’ मा काम गरिरहेको सुरक्षा श्रोतले बताएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरु सुरक्षा योजना बनाउँदै भ्रमणलाई कहि कतैबाट दख्खल नपार्ने गरी योजना बनाईरहेका छन् ।

उनीहरुले प्राथमिक रुपमा सीलाई काठमाडौंमा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गर्दै त्यसअनुरुपको सुरक्षा प्रबन्ध मिलाउनको लागि लागिपरेका छन् ।

उच्च स्रोतका अनुसार नेपाली सेनाको डीएमआईले सहायक रथीकै नेतृत्वको टोली परिचालन गरेर काम गरिरहेको छ । नेपाल भ्रमणमा रहँदा राष्ट्रपति सीलाई पहिलो घेराबाट नेपाली सेनाले सुरक्षा दिनेछ । सेनाको डीएमआईबाट खटिएका अधिकारीहरु यतिबेला भेष बदलेर सिन्धुपाल्चोक, रसुवा, नुवकोटा र मकवानपुरका गाँउसम्म पुगेका छन् । सेनाको प्रारम्भिक विश्लेषणमा सीलाई भौतिक हानी पुर्याउने किसिमको खतरा छैन ।

‘भौतिक हानी पुर्याउने किसिमको खतरा रहेको देखिँदैन, तर विश्वको ध्यान आकर्षित गर्न फ्रि तिब्बत मुभमेन्ट हुन सक्छ’, सेनाका एक उच्च अधिकारीले भने ।

सीको सुरक्षाको केन्द्रीय जिम्मेवारी पनि नेपाली सेनाकै हुनेछ । सेनाको नेतृत्वमा केन्द्रीय सुरक्षा सेल बनाएर सीको भ्रमण अवधिभर सुरक्षा दिने तयारी भएको छ । त्यस्तो सेलमा सशस्त्र, प्रहरी र राअविका अधिकारी रहनेछन् ।

यसैबीच चीनबाट जर्नेल नेतृत्वमा आएका १८ जना सुरक्षा विज्ञको विशेष टोलीले पटक–पटक त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे, फ्युलिङ, ह्याङगर, विशिष्ठ कक्ष, टावर र बाहिरको वस्तुस्थिति अवलोकन गरेको छ । उनीहरुले विमानस्थलमा प्रयोग भएको अल्कत्राको समेत जाँच गरेका थिए ।

चीनबाट आएको सो टोलीसँगै नेपाली सुरक्षा अधिकारी समेतले विमानस्थलको अवस्था अवलोकन गरेका हुन । त्यो टोलीले नेपाली अधिकारीहरुसँग सहकार्य गरेर अगाडी बढिरहेको सुरक्षा श्रोतले बताएको छ । सीको यो भ्रमणलाई सम्पूर्ण रुपले सुरक्षित बनाउन नेपाल प्रहरीले सबैभन्दा बढी सक्रियता देखाइरहेको छ । भ्रमण अवधिमा बाटो व्यवस्थापनदेखि भेटघाटलाई समेत निगरानी गर्ने प्रहरीले तिब्बती गतिविधिमा सक्रियहरुको प्रोफाइल बनाएर निगरानी थालेको छ ।

यसैगरी प्रहरीको विशेष ब्युरोबाट खटिएका एसपीले वृत्त बौद्ध र वृत्त स्वयम्भुसहितका इकाईसँगको सहकार्यमा ‘फ्रि तिब्बत मुभमेन्ट’ मा सक्रियहरुको प्रोफाइल तयार पारेको छ । तिब्बतीहरुलाई पनि खतराको दृष्टिले श्रेणी छुट्याएर निगरानी सुरु भएको छ ।

‘हामी चिनियाँ समकक्षी अधिकारीहरुसँगको सहकार्यमा काम गरिरहेका छौं’, सशस्त्रका एक अधिकारी भन्छन्, ‘भ्रमण सम्पूर्ण रुपमा सुरक्षित बनाउन काम भइरहेको छ । विमानस्थल सहितका ठाउँहरुको अवलोकन त्यसैका लागि हो ।’

सशस्त्र प्रहरीको उपत्यका हेर्ने इकाईले सुरक्षा चुनौती विश्लेषणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्