सरकारले चिनि गन्दा मौलायो अग्रवालको धन्दा



काठमाडौं : नेपालीको महान चाडपर्वहरु नजिकिँदै गर्दा उपभोग्य सामाग्रीहरुको मूल्य व्यापारीहरुले बढाउन थालेका छन् । सरकारको प्रभावकारी अनुगमन र निगरानी नहुँदा व्यापारीहरुले यो मौकाको फाइदा उठाउँदै मूल्य वृद्धि गर्दा उपभोक्ताहरुको ढाड सेकिन पुगेको छ ।

सरकारले चिनि आयातमा भन्सार शुल्क बढाएको मौकामा चिनि व्यापारीहरुले चिनिको मूल्य वृद्धि गरेका छन् । चिनि धेरै खपत हुने दशैं तिहारको मौका छोपेर व्यापारीले चिनिमा गरेको मूल्य वृद्धिले आकाश छोएको छ ।

तस्करीको चिनि बिक्री गर्ने चिनि उद्योगको लविङ्गका कारण विदेशी चिनि आयातमा कडाइ गरिरहेको सरकारको यो कदमको विरोध हुन थालेको छ । विशेष गरी चिनि उद्योग संघका अध्यक्ष समेत रहेका चिनि व्यापारी शसिकान्त अग्रवाल लगायत समूहको प्रभावमा परी सरकारले चिनि आयातमा कडाइ गरेको व्यापारी समुदायबीच चर्चा छ ।

नेपालका चिनि उद्योगीहरुले भारतका सीमा क्षेत्रबाट तस्कारीको चिनि ल्याइ नेपाली उद्योगबाट उत्पादित भएको छाप लगाइ बिक्री वितरण गर्दै आएको बताइन्छ । खुल्ला सीमाको फाइदा उठाउँदै भारतमा सस्तोमा रहेको चिनि नेपाल ल्याइ नेपाली उद्योगको स्टिकर टाँसेर व्यापारीहरु मालामाल भइरहेका छन् ।

एकतिर सरकारले नेपाली उखु खेतीको प्रवधनका लागि चिनि उद्योगलाई सहुलियत दिने नाममा आयातित चिनिमा भन्सार बढाएपनि त्यसको प्रत्यक्ष फाइदा उखु किसानहरुले पाउन सकिरहेका छैनन् । कतिपय चिनि उद्योगहरुले विगत दुई वर्षदेखि उखु किसानहरुलाई भुक्तानी दिइरहेका छैनन् ।

चिनि उद्योग संघका अध्यक्ष अग्रवालले कांग्रेसका नेता रामशरण महत अर्थ मन्त्री भएका बेला बजेट वक्तव्यमै चिनिको भ्याट फिर्ता गर्ने व्यवस्था गराउन सफल भएका थिए । त्यसबेला अग्रवालले भ्याट फिर्ता बापत ६ अर्ब रुपैयाँ फिर्ता लगेका थिए । यो घटनामा तत्कालिन अर्थमन्त्री महतलाई अग्रवालले मोटो रकम बुझाएको चर्चा व्यापक थियो । त्यसबेला अग्रवालले लगेको चिनिको भ्याट फिर्ता रकम नेपालमा उत्पादन चिनिको भने होइन, बसै भारतबाट तस्करीमा ल्याएको चिनि प्याकिङ्ग गरेर आफ्नो उद्योगबाट उत्पादित भन्दै बिक्री गर्ने अग्रवालहरुको धन्दा मौलाएको छ ।

यस्तै धन्दा र राजश्व छलिबाट रातारात धनि भएका अग्रवालले अहिले पनि अर्थमन्त्री युवराज खतिवडालाई प्रभावमा पारेर अर्बौ लुट्ने योजना बनाएका थिए । यसका लागि अर्थमन्त्रालयका सचिवलाई समेत हातमा लिइसकेका थिए । तर, अर्थमन्त्री खतिवडाले अनुदानमा दिन नसकिने भन्दै पूरानो व्यवस्था समेत खारेज गरिदिएपछि शशिकांनहरुको अर्बौ लुट्ने योजना तुहिन पुगेको छ ।

त्यस्तै नेपालका उखु किसानहरुलाई समयमा भुक्तानी नदिने तर भारतबाट तस्करीको चिनि ल्याएर आफ्नो उद्योगको स्टिकर टाँसी प्याकिङ्ग गरेर बिक्री वितरण गरिरहदा सरकार मौन बस्नु आश्चर्यको विषय बनेको छ ।

दशैं तिहारको मुखमा चिनिको आकाशिदो मूल्य वृद्धि र कालो बजारी प्रति सरकारले कडाइको साथ अनुगमन गर्नुपर्नेमा त्यसो नहुँदा उपभोक्ताहरु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्