जनप्रतिनिधिको भ्रमण मोह : खर्च लाखौं, उपलब्धि शून्य



सुर्खेत: सुर्खेतका तीनवटा स्थानीय तहका पाँच जनप्रतिनिधि १५ दिने थाइल्यान्ड भ्रमण गरेर स्वदेश फर्किए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ताओ एसोसिएसनको निमन्त्रणामा थाइल्यान्ड गएका उनीहरु अहिले आआफ्नो स्थानीय तहबाट खर्चको भुक्तानी लिने तयारीमा छन् ।

 

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना, लेकबेंसी नगरपालिकाका उपमेयर शान्ति छन्तेल र सोही गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष टोपबहादुर टंलामी तथा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का सदस्य डम्बर नेपालीसहितको टोली थाइल्यान्ड गएको थियो । लेकबेंसी नगरपालिकाले उपमेयर र वडाध्यक्षलाई थाइल्यान्ड जाँदा र आउँदा लागेको हवाई टिकटको पैसा दिने निर्णय गरिसकेको छ ।

 

चौकुने गाउँपालिकाले कार्यपालिका बैठकमा यससम्बन्धी प्रस्ताव लैजाने तयारी गरेको छ। ‘थाइल्यान्ड गएको र फर्केको हवाई टिकटका आधारमा रकम भुक्तानी दिने निर्णय भएको छ’, लेकबेंसी नगरपालिकाका मेयर गगनसिं सुनारले भने, ‘एकदुई दिनभित्रै उपमेयर र वडाध्यक्षको टिकटमा लागेको खर्चको भुक्तानी हुन्छ।’ उपमेयर छन्तेलले प्रतिव्यक्ति टिकटमा ६६ हजार रुपैयाँ खर्च भएको बताइन्।

 

पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिको विदेश मोह बढ्दै गएको देखिन्छ। नौवटा स्थानीय तह रहेको सुर्खेतका अधिकांश जनप्रतिनिधि विदेश पुगेर फर्केका छन्। सुर्खेतमा मात्रै होइन् कर्णाली प्रदेशका ७९ स्थानीय तहका अधिकांश जनप्रतिनिधि विदेश पुगिसकेका छन्। जनप्रतिनिधिले विभिन्न उद्देश्य राखेर विदेश र अन्तरजिल्ला भ्रमण गरे पनि उपलब्धि भने शून्यजस्तै रहेको एक जनप्रतिनिधिले बताए ।

 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला कात्तिक पहिलो साता चीन भ्रमण गए। जिल्लामा पाँचतारे पर्यटकीय होटल निर्माण, बहुउपयोगी सिबक्थ्रोन (डालेचुक) को प्रचारप्रसार र प्राविधिक शिक्षालय निर्माणका लागि आर्थिक सहयोग जुटाउने भन्दै चीन गएका उनीहरूले लाखौं रुपैयाँ खर्चिए ।

 

स्रोतका अनुसार उनीहरूको चीन भ्रमण क्रममा नगरपालिकाको छ लाख रुपैयाँ खर्च भएको छ। नगरप्रमुख र प्रशासकीय अधिकृतका लागि जनही एक लाख ५० हजार र सिबक्थ्रोन (डालेचुक) को किताब नेपाली, अंग्रेजी र चिनियाँ भाषामा लेखन तथा प्रकाशनबापत दुई लाख ५० हजारसमेत गरी ६ लाख रुपैयाँबराबरको रकम खर्च भएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्