शक्तिशाली भुकम्प : पाकिस्तानमा मर्नेको संख्या ३८, ईण्डोनेशियामा एकको मृत्यु



एजेन्सी : पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८ पुगेको छ । गत मङ्गलबार गएको भूकम्पमा परी घाईतेको संख्या करिव ५०० रहेको प्रहरीले बताएको छ ।
मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ । उता ईण्डोनेशियामा गएको भूकम्पबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत भुकम्पको झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ ।
यस्तै इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा आज बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
भुकम्पमा परी १ जनाको मृत्यु हुनका साथै केही व्यक्ति घाईते भएको इन्डोनेसियाली उद्धार संस्थाहरुले बताएका छन् ।

निकै शक्तिशाली भए पनि यस भूकम्पका कारण समुद्रमा सुनामी आउने सम्भावना नरहेको इन्डोनेसियाली भूकम्प मापन केन्द्रले जनाएको छ ।

स्थानीय समयानुसार बिहान करिब ८.४५ बजे भूकम्प आएलगत्तै मानिसहरु आत्तिएर घरबाहिर निस्केका थिए ।

स्थानीयबासीका अनुसार भूकम्पका कारण घरहरु निकै जोडसँग हल्लिएका थिए । करिब चार लाख मानिसको बसोबास रहेको आम्बोन शहरमा घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

टेलिभिजन फुटेजहरुमा घरका पर्खालहरु भत्किएको र मानिसहरु उपचारका लागि भौंतारिरहेको देखिएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको थियो । इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५.६ म्याग्नीच्यूडको पनि गएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्