नक्कली लाईसेन्स बनाउँने दुईजना पक्राउ



बीरगन्ज : पर्सा प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र बनाउँने दुईजना विचौलियालाई वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज ११ श्रीपुरका मोहनलाल राउत कुर्मी र घनश्याम भण्डारी रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्लले बताए ।


उनीहरुको साथबाट नक्कली सवारी चालक अनुमति पत्र बनाउँन प्रयोग गरिएको कागजातहरु फेला परेको प्रहरी निरिक्षक मल्लले बताए । उनीहरुले बारा कोल्हवी नगरपालिका वडा नम्बर ४ प्रगति नगर बस्ने बर्ष २४ को रमेश चौधरी संग ‘बी’ क्याटोगोरीको लाईसेन्स बनाउँन ७ हजार रुपैया लिएको प्रहरीले बताएको छ ।

चौधरी संग १५ हजारमा ‘बी’ क्याटगेरीको लाईसेन्स बनाई दिने सहमती गरे अनुसार पक्राउ परेका कुर्मीले रसिद काट्नु पर्छ भनेर तत्काल चौधरीसंग ७ हजार रुपैया लिएको थियो ।
कुर्मीले किर्ते गरेर आफै नक्कली रसिद बनाएर चौधरीलाई दिएपछि आंशका लागेर नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जमा बुझन जाँदा रसिद नै नक्कली रहेको भेटिएपछि आफू ठगिएको भन्दै प्रहरीमा गुहार लगाएको थियो । आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्