पिल्लर पुल विस्थापनको तयारीः अत्याधुनिक प्रविधि भित्र्याइँदै



भविष्यमा भने मोटरेबल आर्क, सस्पेन्सन र सिग्नेचर बि्रजहरु निर्माणको योजना बन्दै गरेको विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ती प्रविधि भित्रिएपछि राजमार्गका पुलका पिल्लर हरेक वर्ष भासिने र भाँचिने समस्याबाट मुक्ति पाइने उनको भनाइ छ ।

‘हामी पुरानै प्रविधिमा बसिरहन सक्दैनौं । विश्वले अपनाएका नयाँ, किफायती, कम खर्चिलो र दिगो किसिमका प्रविधिहरुमा जान चाहन्छौं,’ थापा भन्छन्, ‘विकास र समृद्धिको पूर्वाधारका रुपमा रहेका पुलहरुलाई आधुनिकीकरण गर्ने योजनामा छौं ।’

काठमाडौंमा ‘नेटवर्क आर्क’को प्रयोग

विभागले काठमाडौंका दुई स्थानमा नयाँ प्रविधिमा आधारित पुल निर्माण गर्दैछ । माइतीघर-तीनकुने सडकको धोबीखोला र वागमती नदीमाथि ‘नेटवर्क आर्क’ पुल निर्माणाधीन छन् ।

वागमती पुलको ठेकेदार पप्पु कन्स्ट्रक्सनले काममा ढिलाइ गरिरहेको छ । तर, धोवीखोला पुलको काम तीव्र गतिमा छ । विभागले शोभा भगवती छेउको विष्णुमती नदीमा पनि ‘रेन्बो आर्क’ पुल तयार पारेको छ ।

ती पुलको ‘नेटवर्क आर्क’ प्रविधि अन्य कुनै पुलमा प्रयोग भएको छैन । खोला वारि-पारि सडकको चौडाइबराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । त्यही जगले पुलको भार थेग्छ ।

आर्क बि्रजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग हुँदैन । बलियो जग हालेपछि माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत् नै पुलको भार बोक्ने संरचना जोडिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । र, सम्पूर्ण भार आर्कले नै थेग्छ ।

प्रतिक्रिया दिनुहोस्