भावी सेनापतिको दौडमा शर्मा



काठमाडौं : पदावधी थपसँगै उपरथी प्रभुराम शर्मा भावी सेनापतिको लाईनमा लागेका छन् । मन्त्रीपरिषद बैठकले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गर्ने निर्णय गरेसँगै शर्मालाई भावी प्रधानसेनापतिका रुपमा पनि हेर्न थालिएको छ । यससँगै सेनाको भावी नेतृत्वको दौडमा शर्मा पनि थपिएका छन् ।

सैनिक मुख्यालयको सिफारिसअनुसार एक वर्ष दुई महिना १५ दिनका लागि पदावधी थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।

दुई वर्षे पदावधी कात्तिकमा सकिन लाग्दै गर्दा सरकारले एक वर्ष २ महिना १५ दिन पदावधी थपेपछि उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीको रुपमा हेर्न थालिएको छ ।

एक पटक कार्यकाल थप भइसकेका हालका बलाध्यक्ष रथी गौरव तण्डुलले आगामी वैशाखमा अवकास पाउँदै छन् भने रथी शरद गिरीले पनि असारमा अवकास पाउनेछन् ।

तण्डुल र गिरी दुबैले अवकास पाउँदा सेनापति थापा पछि वरियतामा शर्मा माथि हुनेछन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल २०७८ भदौ २४ गते समाप्तिसँगै भावी प्रधानसेनापतिको दावेदार रहेका उपरथी शर्माको पदावधी मन्त्रिपरिषदले २०७६ असोज ७ गते मंगलबार थप गरेको हो ।

वरिष्ठको रोलक्रम यही कायम रहेको सामान्य अवस्थामा वरिष्ठ रथीका हिसावले प्रभुराम शर्मा रथीको दुई वर्षे कार्यकाल पूरा नहुँदै २०७८ साउन २४ गतेबाट कामु प्रधानसेनापति र २०७८ भदौ २४ गतेबाट प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्