जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश २ सरकारले विकास निर्माणको कार्यलाई गति दिन नसकेको बताएका छन् ।
जनकपुरमा आज जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो कार्यालय ६ महिनाअघि उद्घाटन हुनुपर्ने थियो, तर संघीय सरकारले समयमै कर्मचारी नपठाएका कारण ढिलो भयो । प्रदेश सरकारलाई काम गर्नै समस्या भयो ।’
उनले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि कर्मचारी पठाउनेलगायत विषयमा असहयोग गरिरहेको आरोप लगाए । एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएको उल्लेख गर्दै उनले त्यो मानसिकतामा परिवर्तन ल्याउन आग्रहसमेत गरे ।
संघीय सरकारको अवरोध कायम रहे पनि कर्मचारी अभावमा प्रदेश सरकारको कामकाज अवरुद्ध नहुने बताउँदै भने, ‘प्रदेश सरकार करार कर्मचारी ऐन सदनमा गइसक्यो, संघीय सरकारले एक महिनाभित्र आवश्यक कर्मचारी नपठाए आफैं कर्मचारी भर्ना गर्नेछौं ।’
विकास निर्माणको कार्यमा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिँदै उनले विकास निर्माणको कार्यमा ढिलासुस्ती अस्वीकार्य हुने बताए ।
सिँचाइ डिभिजन प्रमुख भगवान झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झासहितको उपस्थिति थियो ।