कृषि विकास बैंक ह्याकिङ प्रकरण : थप तीन जना पक्राउ



काठमाडौं : कृषि विकास बैंक ह्याकिङमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । योसँगै अहिलेसम्म बैंक ह्याकिङ संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

महानगरीय अपराध महाशाखाले स्थानीय प्रहरी युनिटको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौंको बसपार्कबाट पर्वतका गणेश बस्याललाई पक्राउ गरेको हो ।

कञ्चनपुरबाट पक्राउ परेका भट्टको कृषि विकास बैंक कञ्चनपुर शाखामा रहेको खातामा ४५ लाख र पर्वतबाट पक्राउ परेका न्यौपानेको कृषि विकास बैंककै पर्वत शाखामा २८ लाख रुपैयाँ ट्रान्सर्फमर भएको देखिएपछि उनिहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

प्रहरीले कञ्चनपुर र पर्वतबाट पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याउदैछ । हिजो (बिहीबार) स्याङ्जाबाट पक्राउ परेका रामकृष्ण भुसालले बयानको क्रममा बस्यालको नाम पोलेपछि उनलाई काठमाडौंको बसपार्कबाट महाशाखाको टोलिले आज (शुक्रबार) पक्राउ गरेको हो ।

स्याङ्जामा पक्राउ परेका भुसाल स्थानीय प्रतीक्षा निर्माण सेवाका मालिक हुन् । प्रहरीसँगको बयानमा उनले पर्वतका गणेशप्रसाद बस्यालले आफ्नो खाता नम्बर मागेर पैसा हाल्न लगाएको र आफुबाट पटकपटक गरि ४७ लाखको चेक लिएर खाताबाट पैसा निकालिसकेको बताएपछी अपराध महाशाखाको विशेष टोलिले आज बिहान बस्याललाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्