जनकपुरमा रम्दै डुलेका स्पेनिश जोडीले भने-‘एगेन, वि विल कम जनकपुर’



जनकपुरधाम : झमक्क साँझ पर्दा पनि नओथाएको उखरमाउलो गर्मीका बीच जनकपुरको जनकचोकमा क्यामरामा तस्वीर कैद गरिरहेको अवस्थामा भेटिए, स्पेनका प्रेमिल जोडी सन् र अलवा । दुई महिनादेखि नेपालका विभिन्न ठाउँ घुमेर जनकपुर आइपुगेका उनीहरु निकै मिलनसार थिए ।

गुगलबाट जनकपुरको जनकी मन्दिरका बारेमा जानकारी लिएर यहाँ आएको बताउने उनीहरु जानकी मन्दिर र ऐतिहासिक पोखरीहरु घुम्न पाएकामा खुशी व्यक्त गरे । ‘उफ् औधि गर्मी रहेछ’, उनीहरुको छोटो मीठो टिप्पणीसँगै यही गर्मीका कारण दुई दिन मात्र घुमेर फर्कन बाध्य भएको बताए ।

गर्मीका कारण दिनभर होटलको कोठामा कैद भएका उनीहरु साँझ परेपछि मात्र घुम्न निस्किए पनि जानकी मन्दिर, गंगासागर, धनुषक्षेत्र, अर्गाजा पोखरी घुम्न र फोटो लिन भ्याइसकेका रहेछन् ।

जनकपुरमा मन परेको कुरा सोध्नेवित्तिकै अलवाले क्यामेरामा कैद गरिएको फोटो देखाउँदै भनिन्– यी … मुरही, कचरी र चप । ‘आई लाइक दिज इण्डियन फुड्स’ । उनले थपिन्– ‘आर्ई’भ सिन इण्डियन फेस इन जनकपुर, आई लाइक इट ।’

काठमाण्डौ, लुम्बिनी, बर्दिया, इलाम, पोखरा, पञ्चासे आदि ठाउँमा घुमेर आएका उनीहरुलाई इलामको सबैभन्दा बढी मन परेछ । इलामबाट सिधै जनकपुर आएका उनीहरुले स्कुटी भाडामा खोजेछन्, तर नपाएपछि बाध्य भएर पैदल डुलेका उनीहरुले ‘विदेशी पर्यटकलाई आकर्षित गर्ने हो भने सबै सेवासुविधा उपलब्ध हुनुपर्छ’ भनी सल्लाह पनि दिए ।

जनकपुरमा चलिरहेका टेम्पोले मनपरि भाडा मागेपछि उनीहरुले स्कुटर भाडामा खोजेका रहेछन् । समयको अभावमा रहेका उनीहरु मिनेटजति जनक चोकमा द नेपालटपसँग भलाकुसरी गर्दै फेरि पनि नेपाल घुम्न आउने र त्यति बेला पनि जनकपुर नछुटाउने बाचासहित विदा भए । हात हल्लाउँदै अलवाले भनिन्– ‘एगेन, वि विल कम जनकपुर ।’

प्रतिक्रिया दिनुहोस्