फितलो बजार अनुगमन : महंगी अघिअघि, अनुगमन पछिपछि



काठमाडौं : मुख्य चाडपर्वको समयमा बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, कपडा, तरकारी, रंगरोगनका सामग्रीको मूल्य अत्याधिक वृद्धि हुदाँ उपभोक्ता मारमा परेका हुन् ।

चाडपर्वमा किनमेलका लागि चहलपहल बढी हुने भएकाले व्यापारीले मनलाग्दी मूल्य तोकेर उपभोक्तालाई ठगिहेका हुन्छन् ।

सम्भावित कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमनलाई तिव्रता दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । तर अनुगमन अघिअघि र कालोबजारी तथा महंगी पछिपछि हिंडिरहेको अवस्था रहेको छ ।

बजार अनुगमन गर्दा मूल्य सूची नराख्ने, बिल नदिने, खरिद बिल नदेखाउने, दर्ता नभइ सञ्चालन, म्याद नाघेका, बढि मूल्य तिर्नुपर्ने लगाएतका पसल भेटिने गरेका र उपभोक्ताहरु दैनिक ठगिदै आएका प्रमाणहरु भेटिए पनि कार्वाही भने कसैमाथि हुन सकेको छैन ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन चाडपर्वका अवधिभर सक्रिय रहने शाखा अधिकृत दीपकराज पोखरेलले बताएका छन् । उनका अनुसार अरु समयभन्दा चाडवाडमा उपभोक्ता बढी ठगिने कुरालाई मध्यनजर गरी बजार अनुगमनमा तीब्रता दिइने छ ।

हाल अनुगमन टोलीले बालाजु, गोङ्गबु, कलङ्की, कोटेश्वर, जावलाखेल, लगनखेल, वानेश्वरस्थित पसलमा अनुगमन गरिरहेको बताइएको छ । सरकारले ६ ओटा अनुगमन टोलीका कुरा गरे पनि कर्मचारी अभावका कारण ४ ओटा टोलीले बजार अनुगमन गरिरहेको हुँदा भनेको जस्तो अनुगमन प्रभावकारी हुन सकेको छैन । काठमाडौं बाहिरका जिल्लामा रहेका मुख्य बजारका साथै गाउँका पसलहरुबाट पनि उपभोक्ताहरु ठगिइरहेका छन् ।

महंगीका कारण दसैंको खुसियाली घरघरमा भित्रिन नसकेको उपभोक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्