लघुवित्त बैंकर्स संघको अध्यक्षमा शर्मा र लम्साल भिड्दै, कसले मार्ला बाजी ?



काठमाडौं : लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्सको नेतृत्वका लागि आज (आइतबार) निर्वाचन हुँदैछ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले अध्यक्षका उम्मेदवारी दिने भएका छन् ।

शर्मा हाल संघको उपाध्यक्ष रहेका छन् भने लम्साल महासचिव हुन् । शर्मा अघिल्लो अधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए । तत्कालीन कार्यवाहक अध्यक्ष रामचन्द्र जोशीले नै अध्यक्ष बन्ने इच्छा राखेपछि अर्को कार्यकालका लागि शर्मालाई सर्वसम्मत् अध्यक्ष दिने बताएपछि उनी ब्याक भएका थिए ।

जोशीको कार्यकाल पूरा भएपछि सर्वसम्मत अध्यक्ष बन्ने योजनामा रहेका शर्माविरुद्ध लम्सालले उम्मेदवार दिने तयारी अनुरुप लम्सालले सीईओहरुसँगको छलफललाई तीव्र बनाएका छन् ।

यसैगरी ग्रामीण विकास बैंकका सीईओ पर्वत कार्कीले पनि अध्यक्षका लागि आकांक्षा देखाएका छन् । हाल सदस्य रहेका उनले उपाध्यक्षका लागि अध्यक्षको उम्मेदवार बन्ने चर्चा लघुवित्त बैंकर्सबीच चलेको छ ।

संस्थाको उपाध्यक्षमा फस्र्ट माइक्रोफाइनान्सका सीईओ भेषबहादुर पन्थीले उम्मेदवारी घोषणा गरेका छन् । प्रकाशराज शर्मा प्यानलको टिमले भने लम्सालाई उपाध्यक्ष दिएर शर्मालाई अध्यक्ष बनाउन लबिङ गरिरहेका बुझिएको छ ।

तर लम्सालले आफूलाई धेरै सीईओहरुको समर्थन रहेको भन्दै अध्यक्ष बाहेक अन्य पदमा नबस्ने बताएका छन् ।

यसैगरी संघको महासचिवमा नेसनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र डेप्रोक्स लघुवित्त वित्तीय संस्थाका सीईओ अमरराज खड्काबीच प्रतिष्पर्धा हुने देखिएको छ । उनीहरु दुवै जनाले शनिबार अनौपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका थिए ।

यसैगरी सचिवमा रामहरि दाहाल आकांक्षी देखिएका छन् । मेरो माइक्रोफाइनान्सका सीईओ रहेका उनी संघको वर्तमान कोषाध्यक्ष हुन् ।

संघको कार्यसमितिमा बस्न कालिका लघुवित्त वित्तीय संस्थाका सीईओ मीनबहादुर बोहरा, जनउत्थान लघुवित्त वित्तीय संस्थाका सीईओ श्रीराम पोख्रेल, उन्नती माइक्रोफाइनान्सका सीईओ प्रेम पाठक लगायतकाले आकांक्षा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्