काठमाडौंको कृत्रिम अभाव तोड्न बाँके–बर्दियाबाट पाँचहजार खसीबोका पठाइँदै



नेपालगञ्ज : दसैं नजिकिँदै गर्दा काठमाडौंमा कृत्रिम अभाव सिर्जना गरेर भारतबाट खसीबोका भित्र्याउन व्यापारीहरुले गरिरहेका गलत धन्दालाई चुनौती दिंदै बाँके र बर्दियाका महिलाले पाँचहजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँचहजार खसीबोका काठमाडौँ र अन्य सहरमा पठाउने भएका हुन् ।

मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालन थालेलगत्तै उत्पादित खसीबोका दसैंको मौका पारी व्यावसायिक रुपमा काठमाडौँ तथा अन्य सहर पठाउन थालिएको हो । दशैँ र तिहारलाई लक्षित महिला समूहले पाँचहजार खसीबोका देशैभरका मुख्य सहरमा पठाएर अब देश मासुमा आत्मनिर्भर हुने सन्देश प्रवाह गरेका छन् ।

यस वर्ष भारतीय खसीबोका भित्र्याउन नपाइने देखेपछि केही खसी व्यवसायीहरु अभाव देखाएर भए पनि भारतीय खसीबोका भित्र्याउने ध्याउन्नमा लागेका छन् । अहिले बाँकेको ढकेरी बिक्री कक्षमा खसीबोकाहरु हजारौंको संख्यामा खसीबोका जम्मा गर्ने र बिक्री गर्ने काम भैरहेको छ ।

ती खसीबोकाहरु सहकारीमार्फत् हुर्काइएका छन् । महिला उद्यमीले हाल बाँकेमा १५ र बर्दियामा चारवटा सहकारीबाट ती खसीबोका संकलन गरिरहेका छन् । प्रारम्भिक प्रक्षेपणअनुसार सुरुको लटमा एक हजार खसीबोका नेपालगञ्ज, बुटवल, तुलसीपुरलगायतका सहरमा पठाउन लागिएको छ । यदि काठमाडौंमा अभाव सिर्जना गरिए बाँके र बर्दियाबाट खसीबोका सिधै काठमाडौँ पठाइने छ ।

समूहका अनुसार जिउँदो खसी प्रतिकिलो रु ४५० देखि ५१५ का दरले खरीद गर्दै आएको र रु ५०० देखि ५५० सम्ममा बिक्री गर्ने गरिएको छ । पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थताको प्रमाणपत्रसहित ती खसीबोका बिक्रिवितरण गरिएकाले उपभोक्ताहरुमा विश्वास बढेको छ । अर्कोतिर घरमै आएर मर्का नपर्ने भाउमा खसीबोका आफ्नै घरबाट बिक्रि हुन थालेपछि किसानहरु मख्ख परेका छन् ।

प्रतिक्रिया दिनुहोस्