मिथिलाञ्चलमा झिझिया नृत्य



जनकपुरधाम : घटस्थापनाको दिनदेखि तराई–मधेशमा झिझिया नृत्य सुरु भएको छ । मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रुपमा निर्मित र विकसित झिझिया नृत्य मधेशतराइको साझा नृत्यका रुपमा स्थापित भएको पाइन्छ । घटस्थापनामा सुरु भएर दसैंभर प्रदर्शन गरिने यो अनुष्ठान महिलाद्वारा नै सञ्चालन, संयोजन र प्रस्तुत गरिन्छ ।

यसको उत्थान र विस्तारमा आध्यात्मिक पृष्ठभूमि रहेको छ । इहलोकमा मनाइने यो पर्व परलोकको विश्वास र व्यवहारबाट उत्प्रेरित छ । गाउँका ठूलाबडा, धामी–झाँक्रीको विचार र मन्थनबाट बोक्सीको जादुटुनाको प्रतिकारस्वरूप मैथिली समाजमा यसको विकास भएको पाइन्छ ।

तान्त्रिक विधिअनुसार यसमा बलिरहेको दियो भएको घैंटोलाई असंख्य प्वाल पारी टाउकोमा राखेर नृत्य गरिन्छ । झिझिया नृत्यमा टाउकोमा घैंटो राखेर निरन्तर नाचिरहनुपर्छ । घैंटोमा पारिएका प्वाल बोक्सीले गन्न नसकुन् भनेर नाच्ने महिलाले आफ्नो टाउको पनि हल्लाइरहेका हुन्छन् ।

बोक्सीले प्वाल गन्न भ्याए नाच्ने महिला ठहरै हुन्छिन् भन्ने जनविश्वास पनि छ । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिन्छ । बोक्सीलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ । बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहेको छ ।

झिझियालाई आजको दिनमा धार्मिक आस्थासँग जोडेर राख्न असजिलो छ, तर यसको लोक सांस्कृतिक पक्षलाई संरक्षण सम्बद्र्धन गर्नु उचित हुने संस्कृतिविद्हरूको भनाइ छ । झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैंटोराख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भुत वातावरणको निर्माण हुने संस्कृतिविद् डा. रेवतीरमण लालले बताए ।

लेखक, साहित्यकार तथा राजनीतिज्ञ रोशन जनकपुरीका अनुसार झिझिया लोक नृत्य धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा र पर्सालगायत जिल्लामा गरिन्छ । त्यस्तै, भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । ‘झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो, यसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गरिन्छ’, उनले भने ।

इतिहासकारका अनुसार सातौं वा आठौं शताब्दीतिर बोक्सीको प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दैगर्दा झिझिया नृत्यको सुरुआत भएको हो । झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्छ । एउटा वा दुईवटा सफा घैंटो किनेर त्यसलाई सफा गरी घैँटोभरि प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनमा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ ।

त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । टाउकामा राखी नृत्य गर्न ‘पूर्वझिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ : ‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी बजर बान्हो दशो दुआरी मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।’

यसरी मन्त्र जपिसकेपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैंछोराखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया नृत्य औपचारिकरूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा रहेको छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि केही अन्न र रुपैयाँ चन्दा माग्ने गर्छन् । त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजापाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्