अनुगमन टोली पुग्दा व्यापारीहरुको भागाभाग



काठमाडौं : चाडवाडका बेला सरकारले प्रभावकारी अनुगनम नगर्दा मूल्य वृद्धि र कालोबजारी बढेको भन्दै आलोचना भइरहदा अनुगमनका लागि सरकारी टोली जाँदा व्यापारीहरुको भागाभाग भएको जानकारी प्राप्त भएको छ ।

राजधानी काठमाडौंका विभिन्न व्यापारिक स्थानहरुमा यस्तो घटना भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत कपिल रेग्मीले बताएका छन् ।

आज (आइतबार) सरकारी अनुगमन टोली गोंगबुको बिजी मलमा पुग्दा व्यापारीहरुले अनुगमन नदिइ सटर बन्द गरेर अनुगमन कार्यलाई अवरोध सृजना गरेको छ । अनुगमन गर्ने क्रममा तनावग्रस्तस्थिति सृजना भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको निर्देशनमा असहयोग र अटेर गर्ने व्यापारीहरुको पसलमा सिलबन्दि गर्ने काम गर्ने प्रक्रिया अगाडि बढेको छ । युसका लागि सुरक्षाकर्मी परिचालन भएका छन् ।

सरकारी टोलीले गोंगबुको विजी मलका केही पसलहरुमा अनुगमन गर्दा नियम अनुसार नचलेको भन्दै सिलबन्दी गरेको छ । पसल सञ्चालकहरुलाई जरिवानाका साथै २४ घण्टा भित्र विभागमा हाजिर हुन पनि पत्र काटेको छ ।

त्यस्तै गत शुक्रबार काठमाडौंको दरबारमार्ग, असन, न्यूरोड लगायतका क्षेत्रमा अनुगनका लागि सरकारी टोली पुग्दा व्यापारीहरु भागेका थिए । व्यापारीहरुले अनुगमन टोलीलाई असहयोग स्वरुप भागेको र सटर बन्द गरेको सरकारी अनुगमन टोलीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्