मन्त्रीलाई मोटो नजराना नबुझाउँदा महानिर्देशक तानिए



काठमाडौं :उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले औषधि व्यवस्था विभागको महानिर्देशकबाट हटाएपछि सर्वोच्च अदालतको आदेशमा विभागको महानिर्देशकमा बहाली भएको नारायण ढकाललाई यादवले फेरी मन्त्रालय तानेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत छोटी भन्सारको रुपमा रहेको औषधि व्यवस्था विभागबाट मन्त्री यादवले मोटो नजरानाको आश गरेका थिए । मन्त्री यादवको चाहनालाई पूर्णरुपले पूरा गर्न नसकेपछि महानिर्देशक ढकाललाई गत असारमा मन्त्रालय तानिएको थियो । त्यसपछि ढकाल मन्त्रालयको सो निर्णयविरुद्ध गत असार २५ गते सर्वोच्च अदालत गएका थिए ।

अदालतले गत साउन २१ गते ढकालको पक्षमा अन्तरिम आदेश दिदै महानिर्देशक पदमा काम काज गर्न भनेको थियो । अदालतको आदेशपछि मन्त्रालयले गएको १ गते ढकाललाई महानिर्देशकका रुपमा कामकाज गर्नेगरी खटाएको थियो । तर महानिर्देशकको जिम्मेवारी सम्हालेको दुई हप्ता नबित्दै ढकाललाई फेरी मन्त्रालय तानिएको छ । रोचक कुरा त के छ भने ढकाललाई पछिल्लो पटक थमाईएको सरुवापत्रमा गत भदौ २४ को मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा तानिएको व्यहोरा उल्लेख छ ।

जब कि यही असोज १ गते महानिर्देशकको जिम्मेवारी दिएर मन्त्रालयले उनलाई पत्र थमाएको थियो । विभागमा रहेका दशौं तहका पानबहादुर क्षेत्रीले मन्त्री यादवलाई मोटो नजराना चढाएर निमित्त महानिर्देशक भई हालीमुहाली गर्न ढकाललाई पटक–पटक मन्त्रालय तान्न लगाएको चर्चा स्वास्थ्यमन्त्रालय परिसरमा चलेको छ । ढकाल मन्त्तालयमा तानिदा क्षेत्री निमित्त महानिर्देशक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्