बंगालको खाडीमा चक्रवात, नेपालमा चिसो



काठमाडाैं : बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

महाशाखाले विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा सोमबार र मंगलबार देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भूभागमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना औंल्याएको छ । साथै पश्चिमी क्षेत्रमा आंशिक बदली भई एक–दुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना भएको पनि महाशाखाले जनाएको छ । 

 

चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा सोमबार अपराह्नतर ‘ल्यान्डफल’ हुने महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार समुद्री आँधीले जमिन छोएपछि त्यसलाई ‘ल्यान्डफल’ भनिन्छ । ‘ल्यान्डफल’ ले वर्षा र हावाहुरी ल्याउँछ ।

 

सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । उपत्यकाको आकाशमा बदली रहेका कारण चिसो बढेको छ । सोमबार काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ । आइतबार हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । 

साता दिनअघि काठमाडौँको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो । पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उपत्यकाको आज भने २ डिग्रीमा झरेको हो । न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्