प्रेमको नाटकमा बेचिँदै मधेसी चेली



 भारतमा बेचिएकी सर्लाहीकी चेली सबिनालाई पुर्याउन नेपाल आएको भारतीय टोलीका सदस्य तथा नेपाली उद्धारकर्मी ।

 

काठमाडौं : सर्लाही घर भएकी सबिना (नाम परिवर्तन) गत चैत २७ गते राति अचानक घरबाट बेपत्ता भइन् । घरपरिवारमा निकै खोजी भयो । परिवारले प्रहरीमा उजुरी पनि दिए । बरहथवा नगरपालिकाका उपेन्द्र भण्डारी मालीसँग आफ्नी छोरी गएको उनीहरुको दाबी थियो । प्रहरीले खोजीकार्य सुरु गर्यो । उपेन्द्र समातिए पनि । तर, कुनै ठोस प्रमाण नभएका कारण उनी छाडिए । 

चैतमा हराएकी छोरीको विरहमा बसिरहेका बाबुआमाले यो मंसिरमा छोरी भारतको मुम्बईमा रहेको जानकारी पाए । सबिनाका बुवा बेचन (नाम परिवर्तन) लाई मलेसियामा रहेका आफन्तले फोन गरेर सबिनाका बारेमा सोधे । उनैले फेसबुकमा मुम्बईमा सर्लाहीकी एक किशोरी भेटिएको जानकारी आफूले देखेको बताए । 

लगत्तै बेचनलाई स्थानीय प्रहरीले उनकी छोरी भेटिएको र प्रहरीचौकीको जिम्मा लगाइने जानकारी दियो । मंसिर २५ गते इलाका प्रहरी कार्यालय बरहथवामा मुम्बईबाट आएका तीनजना भारतीय प्रहरीको टोली, वल्र्ड भिजन इन्डियाका प्रतिनिधि, केआई नेपालका प्रतिनिधि, भारतको डुअर्स एक्सप्रेस मेल वेलफेयर सोसाइटीका निर्देशक राजु नेपाली र समाजसेवी सरोज रायको उपस्थितिमा प्रहरीले सबिनालाई उनका परिवारको जिम्मा लगायो ।

गत चैतमा सबिना अचानक कहाँ हराइन र फेरि कसरी नेपाल फर्किन सफल भइन्, यो विवरण सबिना आफैंले प्रहरी चौकीमा सुनाइन् ।

२०७४ फागुनमा सबिनाका एक आफन्तको घरमा लगाइएको पूजामा सहभागी हुन उपेन्द्र आएका थिए । त्यहीं सबिनासँग उनको चिनजान भयो । उपेन्द्रले सबिनाको मोबाइल नम्बर पनि लिए । कुराकानीको क्रम बाक्लिएसँगै दुवैले एकअर्कालाई मन पराउन थाले ।

२०७४  चैत २७ गते बरहथवामा लागेको चैतेदसैंको मेला हेर्न गएका बेला उपेन्द्रले सबिनालाई भागेर विवाह गर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्ताव अस्वीकार गरी सबिना घर फर्किइन्, उपेन्द्र पच्छ्याउँदै घरसम्मै आए । 

घरका अन्य सदस्य सुतिसकेपछि राति करिब १२ बजेतिर उनले सबिनालाई घरबाहिर बोलाए । त्यहाँ सबिनालाई ललाईफकाई आफ्नो साइकलमा राखी लिएर हिँडे । 

उपेन्द्रले सबिनालाई सर्लाहीको गंगापुर गाउँ लगे । त्यहाँ उपेन्द्रका आफन्तको घरमा उनीहरु एक रात बसे । समाजसेवी रायले खोजबिन गर्दै जाँदा सबिना र उपेन्द्र गंगापुर गएको पुष्टि भयो ।

त्यहाँबाट उनीहरु भारतको कञ्चनपुर पुगे । कञ्चनपुरमा उनीहरु तीन दिन बसे । यस अवधिमा उपेन्द्रले आफूसँग शारीरिक सम्पर्क पनि राखेको सबिनाले बताएकी छन् ।

सबिनालाई त्यहीं छोडी उपेन्द्र पैसा लिन नेपाल फर्के । उनी पैसा लिएर पुनः कञ्चनपुर गए । आफूहरु मुम्बई जाने र त्यहीं बिहे गर्ने भनी सबिनालाई उनले आश्वस्त बनाए । उनीहरु त्यहाँबाट बस चढी भारतको दरभंगा पुगे । दरभंगाबाट रेल चढी मुम्बई पुगे ।

मुम्बई प्लेटफर्ममा उपेन्द्रको चिनजानका एक व्यक्ति पहिलेदेखि उनीहरुलाई पर्खेर बसिरहेका थिए । उपेन्द्रले आफू एकैछिनमा फर्किने भन्दै सबिनालाई ती व्यक्तिको जिम्मा लगाए ।

सबिनाको हात ती अपरिचितको हातमा दिई उपेन्द्र एकाएक त्यहाँबाट गायब भए । उनी गायब भएपछि ती अपरिचितले सबिनालाई आफूसँगै लान चाहे । सबिनाले अपरिचितसँग नजाने भन्दै विरोध गरिन् । ती व्यक्तिले सबिनालाई जबरजस्ती आफूसँग लान खोज्दा सबिना हात छुटाएर भाग्न सफल भइन् ।

प्लेटफर्ममा अलपत्र सबिनालाई स्थानीय र रेलवे प्रहरीले एन्टी ह्युमन ट्राफिकिङ नाम गरेको संस्थामा पठाए ।

सबिना त्यस संस्थामा करिब सात महिनासम्म बसिन् । त्यस अवधिमा संस्थाले उनका बारेमा खोजी गर्नुका साथै चेतनामूलक विभिन्न कक्षामा पनिसहभागी गरायो ।

भारतमा मानव बेचबिखनविरुद्ध संघर्षरत डुअर्स एक्सप्रेस मेल वेलफेयर सोसाइटीका निर्देशक राजु नेपालीले नेपालका समाजसेवी सरोज रायलाई मुम्बईमा रहेकी सबिनाका बारेमा जानकारी गराए र उनका आफन्तसँग सम्पर्क गराउन आग्रह गरे ।

राजु नेपालीले दिएको जानकारीका आधारमा रायले अनुसन्धान गर्दै जाँदा सबिनाको परिवार भेटियो र मंसिर २५ गते भारतको मुम्बईबाट आएको टोलीले सबिनालाई उनको परिवारको जिम्मा लगायो ।

सबिनाका बुवाले उपेन्द्रविरुद्ध प्रहरीमा मानव बेचबिखन तथा ओसारपसारको उजुरी दिएका छन् । प्रहरी अहिले उपेन्द्रको खोजीमा छ ।

समाजसेवी रायको अनुसन्धानले देखाएबमोजिम उपेन्द्रविरुद्ध यसअघि पनि प्रहरीमा उजुरी परेको छ । अन्दाजी २२ वर्षीय उपेन्द्रले दुईवटा विवाह गरेका छन् । उपेन्द्रले पहिलेकी श्रीमतीलाई छाडेपछि उनको माइतीले प्रहरीमा उजुरी गरेको थियो ।

हाल उपेन्द्र काठमाडौंमा लुकेर बसेको थाहा भएको रायले बताए ।

सबिना अहिले सकुशल रहेकी र सामान्य दिनचर्यामा फर्किसकेकी बेचनले बताए ।

सबिनाको घटना एक उदाहरणमात्र हो । तराई मधेसमा निकै कम सुनिने चेलीबेटी बेचबिखनका घटना केही समययता बढ्दै गएका छन् । मधेसी समुदायका महिला वैदेशिक रोजगारमा कमै जाने र भागी विवाहको परम्परा खासै नभएकाले पहाडको तुलनामा मधेसतिर चेलीबेटी बेचबिखनको समस्या कम छ । केही समय यता भने मधेसको गाउँहरुमा पनि यस्ता घटना सार्वजनिक हुन थालेका छन् ।

सर्लाहीकै अर्की एक किशोरीको पनि उद्धार प्रयास भइरहेको समाजसेवी रायले बताएका छन् । हरिवन नगरपालिकाअन्तर्गत पर्ने ताइवन बस्तीकी एक महिला छोरी कल्पना (नाम परिवर्तन) सँगै एक वर्षपहिले कामको सिलसिलामा भारतको दिल्ली पुगिन् । स्थानीय एजेन्टमार्फत दिल्ली पुगेका आमाछोरीलाई फरकफरक घरमा काममा लगाइयो । 

केही महिनापछि आमा काम छाडेर नेपाल फर्किइन् तर छोरीलाई भने सँगै ल्याइनन् । केही समयपछि छोरी सम्पर्कविीहन भइन् । सुकुमबासी ती महिलासँग छोरीको खोजी गर्न स्रोतसाधन थिएन । फेरि एकपटक डुअर्स एक्सप्रेस मेल वेलफेयर सोसाइटीका राजुले ती किशोरीका बारेमा समाजसेवी रायलाई जानकारी दिए । यति बेला राय ती किशोरीका परिवारको ठेगाना पत्ता लगाई उनलाई फर्काउने प्रयासमा छन् ।

स्थानीय प्रहरीले कल्पनालाई फर्काउन आवश्यक पहल गरिरहेको र आवश्यक कागजात तयार पारी दिल्ली पठाइसकिएको रायले बताए ।

दूतावासले चेली फर्काउन चासो देखाएन

मानव बेचबिखनविरुद्ध अभियान चलाइरहेका भारतीय नागरिक राजु नेपालीका अनुसार दिल्लीस्थित नेपाली दूतावासले अलपत्र अवस्थामा फेलापरेका नेपाली चेलीलाई पुनः नेपाल फर्काउन कुनै चासो देखाउने गरेको छैन ।

समाजसेवी राय पनि भारतीय अधिकारीहरुले नेपाली चेलीको उद्धार गर्ने गरेको भए पनि नेपाली दूतावासले आवश्यक सहयोग गर्न आनाकानी गर्नेगरेको बताउँछन् ।

दिल्लीको जीबी रोडबाट उद्धार गरिएका ८ नेपाली किशोरी दूतावासकै लापरबाहीका कारण फेरि हराएको मानव बेचबिखनविरुद्ध कार्यरत विभिन्न संघसंस्थाको आरोप छ ।

दिल्लीको जीबी रोडबाट २०१७ नोभेम्बर २४ र २५ मा दिल्ली महिला आयोग र क्राइम ब्रान्चले दुईपटक छापा मारी १७  किशोरीको उद्धार गरेको थियो । तीमध्ये १४ जना नेपाली थिए । उद्धार गरिएपछि उनीहरूलाई सरकारी महिला आश्रय गृह (नारी निकेतन र निर्मल छाया कम्प्लेक्स) मा राखिएको थियो ।

 

त्यसपछि क्याटेलिस्ट नामक आश्रय गृहमा राखियो । त्यस क्रममा क्याटेलिस्ट आश्रय गृहबाट नै चार किशोरी बेपत्ता भएका थिए । बाँकी १० जनामध्ये दुईजनालाई अदालतको माध्यमबाट आफन्तलाई बुझाइएको थियो भने आठजनालाई गत मई ४ मा संस्कार आश्रममा पठाइएको थियो । १ डिसेम्बरको राति ती आठजना किशोरी पनि बेपत्ता भए । 

उनीहरुले घर पुर्याइदिन भन्दै करिब एक वर्षदेखि हारगुहार गरिरहेका थिए । दूतावासले समयमै घर पुर्याइदिन पहल नगरेका कारण भाग्न विवश भएको हुनसक्ने मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाका प्रतिनिधिहरूको बुझाइ छ ।

यस घटनाका सम्बन्धमा दिल्ली महिला आयोगले मिलेमतोको आशंकामा आश्रमलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

 

राम्रो जागिरको लोभमा वा प्रेममा परी प्रायः किशोरी बेचिन पुग्छन् । पहाडमा राम्रो जागिर मिलाइदिने प्रलोभनमा पारी दलालहरुले चेलीलाई भारत वा अन्य मुलुक पुर्याउँछन् भने तराईमा प्रेमजालमा पारेर भगाउने र विदेश लगी बेच्ने घटना बढी छन् ।

 

नेपालमा मानव बेचबिखन ठूलो समस्याका रुपमा देखिएको छ । समाजसेवी रायका अनुसार केही समययता किशोरीहरु प्रेममा परी भाग्ने क्रम बढेको छ । थुप्रै अभिभावकले छोरी पत्ता लगाइदिन भन्दै रायसँग सम्पर्क गरेका छन् । यी घटनामा अधिकांशले भागेर विवाह नै गरेका हुन्छन् भने अहिले केही घटनामा बेचबिखन भएको पनि खुल्न आएको राय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्