ओली सरकारले लिएको बाटो सही भएको परिवार दलको ठहर



काठमाडौं : नेपाल परिवार दलले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियान सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ । दलको आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

 

दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले हालै नेपालमा सम्पन्न एसिया प्यासिफिक शिखर सम्मेलनले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा उच्च बनाएको, नेपाली पर्यटनको विकास गरेको, जलवायु परिर्तनबारे चेतना विकास गरेको तथा नेपालको सफल शान्तिप्रक्रियालाई विश्व मञ्चमा पुर्याउन महत्वपूर्ण सहयोग पुर्याएको ठहर गरेको छ ।

 

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको बाटो सही रहेको ठहर गरेको छ । जनआकांक्षा सम्बोधन गर्न थप प्रभावकारी ढंगबाट परिणाममुखी कार्य सम्पादन गर्न परिवार दलले सरकारलाई सुझाव दिएको छ ।

सरकारले गर्ने राजनीतिक नियुक्तिमा योग्यता ,क्षमता र क्षेत्रगत विषयलाई आधार बनाउन बैठकले आग्रह गरेको छ । राष्ट्रिय मुद्दाहरुमा सबै पक्ष एकजुट भएर अघि बढ्ने वातावरण निर्माण गर्न पनि बैठकले सरकारलाई आग्रह गरेको छ । बैठकले निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबीन गरी सत्य तथ्य तुरुन्त सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ ।

बैठकले दलका जिल्ला समन्वय समितिहरुलाई आवश्यकताअनुसार पुनर्गठन गर्दै संगठन विस्तार तीव्र पार्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्