चौकीदार मृत भेटिएपछि कार्यालय प्रमुखसहित पाँच कर्मचारी पक्राउ 



कैलाली :  कञ्चनपुरको लालपुरपुस्थित नेपाल विद्युत् प्राधिकरण लालपुर सबस्टेसनका चौकीदार चन्द्रदेव भट्टको आइतबार ट्रान्सफरमरमा जलेर भएको मृत्युबारे अनुसन्धानका लागि पाँचजना कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कार्यालय प्रमुख पदम चन्दसहित कर्मचारीहरु तिलक स्वाँर, मीनराज भट्ट, महेश शाह र कमल सिंह बडू छन् । आफन्तले हत्याको आरोप लगाएपछि केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए । घटनामा अनुसन्धान जारी रहेको उनले जानकारी दिए । 

शनिबार राति ड्युटीमा रहेका भट्ट सबस्टेसनको ठूलो ट्रान्सफरमरमा आइतबार बिहान मृत भेटिएमा थिए । उनको पूरै शरीर जलेको अवस्थामा पाइएको थियो । 

भीमदत्त नगरपालिका–१९ बाँगफाँटा निवासी भट्टका आफन्तले उनको हत्या भएको आरोप लगाउँदै दोषीलाई पहिचानको माग राखी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । 

आफन्तले शव पनि उठाएका छैनन् । डिएसपी ओझाले आफन्तले किटानी जाहेरी दिने तयारी गरेको जानकारी दिँदै भने, ‘जाहेरी परेपछि थप अनुसन्धान हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्