अनुशासनहीन गुरुका अराजक शिष्य



क्याम्पस भर्ना भएका विद्यार्थी कक्षाकोठामा अनिवार्य उपस्थित हुनैपर्छ । क्याम्पसले तोकेको न्यूनतम हाजिरी विद्यार्थीको देखिनैपर्छ । यो कुनै पनि शैक्षिक संस्थामा लागू हुने सामान्य नियम हो । तर, जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थी यस्तै माग राखी आन्दोलनरत छन् । यतिमात्र नभई उनीहरूले क्याम्पस प्रशासनसामु राखेका मागमा प्राध्यापकले नियमित कक्षा लिनुपर्ने पनि उल्लेख छ ।

विद्यार्थी र प्राध्यापक नियमित कक्षाकोठामा आउनु, प्राध्यापकले तोकिएको पाठ्यक्रम समयमै सकाउनु र विद्यार्थी नियमित कक्षामा आई ध्यान दिएर पढ्नु विद्यार्थी र प्राध्यापकको एकमात्र धर्म हो । तर नेपालमा प्राध्यापकले नियमित पढाइदिनुपर्याे र विद्यार्थीले नियमित पढिदिनुपर्याे भन्ने पनि आन्दोलनका नारा हुने गर्छन् । 

विद्यार्थी आन्दोलन हाम्रोजस्तो देशमा असामान्य कुरा होइन । देशको प्रमुख कार्यकारी पद, प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकांश नेता विद्यार्थी राजनीतिबाटै आएका हुन् । मुख्य प्रश्न हो आन्दोलन केका लागि भन्ने । राराब क्याम्पसका विद्यार्थीले गरिरहेको आन्दोलनका माग हेर्ने हो भने हाम्रो शैक्षिक अवस्था कति दयनीय छ भन्ने प्रस्ट हुन्छ । क्याम्पसमा पढाउने प्राध्यापक दक्ष हुनुपर्ने, प्राध्यापकले कोर्स समयमै सक्नुपर्ने, प्रयोगात्मक कक्षा तथा ल्याबको व्यवस्था गरिनुपर्ने, कक्षाकोठामा नियमित सरसफाइ र बिजुलीबत्तीको सुविधा हुनुपर्ने, कक्षाकोठाका ढोका र झ्यालहरु दुरुस्त हुनुपर्ने, शौचालय र खानेपानीको उचित प्रबन्ध हुनुपर्ने, होस्टलमा विद्यार्थी बस्नसक्ने वातावरण हुनुपर्नेजस्ता माग राखी राराबका विद्यार्थी आन्दोलित छन् ।

 

यी विषय भनेका एउटा शैक्षिक संस्था सञ्चालन हुन आवश्यक न्यूनतम मापदण्ड होइनन् र ? यस्ता आधारभूत आवश्यकता पूरा गराउन पनि विद्यार्थीले आन्दोलन नै गर्नुपर्छ र क्याम्पस प्रमुखलाई मोसो नै दल्नुपर्छ भने नेपालको विद्यमान शिक्षानीति पूर्ण रुपले खारेज गरी नव संरचनामा जानुको विकल्प छैन । 

यहाँ शिक्षानीतिमात्र नभएर शैक्षिक संस्कारको पनि कुरा उठ्छ । विद्यार्थीले आन्दोलन गर्नु उचित वा अनुचित भन्ने प्रश्न छुट्टै छ । तर आन्दोलनका नाममा गुरुको अपमान गर्नु, गुरुलाई कोठामा थुन्नु, अझ मोसो दल्नुजस्ता कार्यले हाम्रा विद्यार्थीले कस्ता शैक्षिक संस्कार पाइरहेका छन् भन्ने प्रश्न पनि उठ्छ । विद्यालयस्तरमै विद्यार्थीलाई नैतिक र सामाजिक शिक्षा पढाइन्छ ।

गुरुको आचरण विद्यार्थीमा संयम बढाउने किसिमको हुनुपर्छ । तर अचेलका गुरु विद्यार्थीलाई झनै उद्दण्ड बन्न बाध्य बनाउँछन् । कम्तीमा राराबका विद्यार्थीको आन्दोलन हेर्दा यस्तै देखिन्छ ।

गलत कुराको विरोध गर्नु तर विरोध गर्दा आफूलाई पढाउने गुरुसँग दुव्र्यवहार नगर्नु भन्ने सामान्य शिक्षा त क्याम्पस तहसम्म पुगेका सबै विद्यार्थीमा हुनैपर्ने हो । हाम्रा विद्यार्थीमा सामान्य अनुशासन पनि देखिएन । कुरा राराब क्याम्पसको मात्र होइन, नेपालका सबैजसो क्याम्पसमा विद्यार्थीले समयसमयमा यस्ता आन्दोलन गरी नै रहेका हुन्छन् । म आफैं नेपालको सबैभन्दा पुरानो कलेज त्रिचन्द्रमा बिएस्सी पढ्दाको एउटा अनुभव छ । केही माग राखेर आन्दोलनरत विद्यार्थीले माग सुनुवाइ नभएपछि वनस्पतिविज्ञान विभागका प्रमुखलाई उनकै कार्यकक्षमा थुनिदिएका थिए । 

शैक्षिक संस्थामा अनिश्चितकालीन तालाबन्दी त सामान्य कुरा हो । केही दिनअघि लहानस्थित प्राविधिक शिक्षालयका केही विद्यार्थीले मधेसी संस्कृतिको अपमान गरे भन्दै त्यहाँ पनि विद्यार्थी आन्दोलित भए, कलेज प्रशासनसमक्ष ती विद्यार्थीलाई निलम्बन गर्नेसम्मको माग राखे । विद्यार्थी अनुशासनको कुरा गरिरहँदा शिक्षकको अनुशासनमाथि पनि प्रश्न उठ्न सक्छ । जहाँ शिक्षकमै आवश्यक अनुशासन छैन, त्यहाँ विद्यार्थीमा अनुशासनको अपेक्षा गर्नु आफ्नै कमजोरी हो ।

 

यहाँ गृहकार्य नगरेको झोकमा शिक्षकले नाबालकलाई कानको जाली फुट्ने गरी पिट्छन् । हप्तौंसम्म बच्चा बिरामी पर्नेगरी यातना दिन्छन् । छोरीसरहका शिष्यालाई यौन दुर्व्यवहार गर्छन् । विद्यार्थीको नभई विद्यालयको भविष्यलाई लिएर चिन्तित हुन्छन् । कम्तीमा पनि पूर्वीय सभ्यतामा गुरुको आचरण यस्तो हुँदैन । पूर्वीय सभ्यताले गुरुलाई ईश्वरभन्दा माथिको स्थान दिएको छ । त्यसैले होला, राराबका विद्यार्थीले क्याम्पसप्रमुखलाई मोसो दलेको घटना सुन्दा हामीमध्ये धेरैलाई पचाउन असहज भएको । तर के हाम्रा गुरु आफ्नो अनुशासनभित्र बसेका छन् ? यो पक्ष पनि विचारणीय छ ।

विद्यार्थी स्वभावैले उद्दण्ड र जिद्दी हुन्छन् । गुरुको आचरण विद्यार्थीमा संयम बढाउने किसिमको हुनुपर्छ । तर अचेलका गुरु विद्यार्थीलाई झनै उद्दण्ड बन्न बाध्य बनाउँछन् । कम्तीमा राराबका विद्यार्थीको आन्दोलन हेर्दा यस्तै देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्