अमेरिकालाई धम्क्याउँदै उत्तर काेरिया



सोल ः उत्तर कोरियाले अमेरिकाद्वारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उसले अमेरिकाले नाकाबन्दी लगाएका कारण नि:शस्त्रीकरणसम्बन्धी कार्यक्रम रोक्ने चेतावनी दिएको छ। 

गत जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा नि:शस्त्रीकरणको विषयमा सहमति भएको थियो । सो विषयमा पछिल्लो समय प्रगति भने हुन सकिरहेको छैन ।

 

सिंगापुर बैठकमा भएको सहमतिअनुसार यी दुई नेताले उत्तर कोरियामा नि:शस्त्रीकरण गर्नेबारेमा हस्ताक्षर गरेका थिए । तर त्यसपछिका दिनहरु सहज हुन सकेका छैनन्, वार्तामा पछिल्लो समयमा अवरोध उत्पन्न हुने गरेको एएफपीले जनाएकाे छ ।

 

अमेरिका अहिलेकै अवस्थामा उत्तर कोरियाले बिनासर्त नि:शस्त्रीकरण गरोस् भन्नेमा छ । उत्तर कोरिया भने अमेरिकाले लगाउँदै आएकाे नाकाबन्दी फुकाइदेओस् र हटाओस् भन्ने चाहन्छ ।

 

अहिले उत्तर कोरियाले अमेरिकाले लगाएका नाकाबन्दी तत्कालै नहटाउने हो भने नि:शस्त्रीकरण प्रक्रिया पनि आरम्भ नहुने र आगामी दिनमा पनि यो प्रक्रियाले कहिल्यै पूर्णता नपाउने चेतावनी दिएको छ । 

 

अमेरिकाले गत हप्ता उत्तर कोरियाली तीन अधिकारीविरुद्धमानवअधिकार हननकाे आरोप लगाएको छ । उनीहरुका विरुद्ध पनि अमेरिकाले नाकाबन्दी जारी गरेको छ । तीमध्येका एकजना चो योङ हाय उत्तर कोरियाली नेता किमका दाहिने हात मानिन्छन् । 

 

उत्तर कोरियाली सरकारको विज्ञप्ति उद्धृत गर्दै यहाँको सरकारी समाचार समिति केसिएनएले भनेको छ– अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार आफ्ना अभिव्यक्तिबाट उत्तर कोरियासँगको सम्बन्धमा सुधार ल्याउन चाहन्छन् तर पनि अमेरिकी विदेश मन्त्रालयले भने बारम्बार उत्तर कोरियाका विरुद्ध नाकाबन्दीका साथै सम्बन्धलाई गत वर्षकै अवस्थामा पुर्याउने खेल प्रदर्शन गरिरहेको छ । 

 

अहिले अमेरिकी विदेश मन्त्रालयले हरेक साताजस्तो विज्ञप्ति प्रकाशन गरेर उत्तर कोरियाल पछिल्लो समयमा कपटपूर्ण काममा लागेको र उसले नि:शस्त्रीकरणका लागि प्रक्रिया आरम्भ नै नगरेको बताउने गरेको छ । 

उता उत्तर कोरियाले भने आफू सिंगापुर सम्झौताको पक्षमा इमान्दारीका साथ लागि परेको तर त्यस सम्झौताबमोजिम अमेरिका भने नाकाबन्दी हटाउने पक्षमा नदेखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्