सिञ्जाका गाउँ महिलामय, पुरुष लागे कालापहाडतिर



जुम्ला : जिल्लाकाे सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारततिर लागेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ । 

जुम्लाका अधिकांश गाउँमा अहिले महिला तथा वृद्धवृद्धामात्रै भेटिन्छन् । त्यसमध्येको एक प्रतिनिधि गाउँ हो कोइरेली । कोइरेली गाउँमा युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् । 

कोइरेली गाउँका हरेक बस्तीमा अहिले पुरुष भेटाउन असम्भव छ । गाउँमा पुरुष नहुँदा कुनै अप्रिय घटना नघटोस् भनेर महिलाले पूरै गाउँको रातदिन रेखदेख गर्नुपर्ने स्थानीय जयलक्ष्मी बुढा बताउँछिन् । गाउँका महिला दिनमा स्याउला, सोत्तर तथा दाउरा सङ्कलन गर्न वा अन्य कुनै काममा निस्किएको बेला घरमा भएका अन्य महिलाले सिङ्गो गाउँ नै रेखदेख गर्ने गरेको रामलक्ष्मी रोकायाले बताइन् । 

'पुरुष कालापहाड गएपछि गाउँ शून्य छ, कोही मर्दा मलामी जाने र आवश्यक पर्दा पछाडी हिँड्ने लोग्नेमान्छे छैन', उनले भनिन्, 'जिल्लामा हिंसाका घटना बढिरहेका छन् । यो बेला हाम्रो गाउँमा कुनै अप्रिय घटना नहाेस् भनेर हामी आफैँ गाउँ कुर्न थालेका हौँ ।' 

महिलाकै अगुवाइमा कोइरेली गाउँ मानवअधिकारमैत्री बनेको छ भने छाउपडी, बालविवाह, मद्यपान र धूमपानमुक्त समाज घोषणा भइसकेको छ । सिञ्जा गाउँपालिका– २ मा पर्ने ३८ घरधुरी रहेको यो गाउँ जिल्ला सदरमुकाम भन्दा ४० कोस टाढा पर्छ । 

गरिबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ भन्ने सोचाइ यस गाउँका पुरुषमा छ । गाउँका पुरुषमध्ये एक युवक नेपाली सेनामा कार्यरत छन् भने अन्य सबै युवा बेरोजगार छन् । मङ्सिर लागेसँगै उनीहरू फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किएका हुन् । 

कोइरेलीमात्रै हाेइन, सिञ्जा क्षेत्रका अधिकांश गाउँमा यतिखेर पुरुषको शून्यता छ । सिञ्जा क्षेत्रसँगै जुम्लाका अधिकांश बेरोजगार पुरुष मङ्सिरदेखि चैत महीनासम्म धन कमाउन कालापहाड जाने गर्छन् । 

यो समय जुम्लामा घरायसी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यहाँका युवादेखि वृद्धसम्म कालापहाड जान बाध्य छन् । हालसम्म जुम्लाबाट केकति पुरुष कालापहाड छिरे भन्ने कसैसँग यकिन तथ्याङ्क नभए पनि यो समयमा कम्तीमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको अनुमान छ ।

रासस

प्रतिक्रिया दिनुहोस्