२६ शहरमा बुधबारदेखि टेलिकमको फोरजी



काठमाडौं : नेपाल टेलिकमले देशका विभिन्न २६ शहरमा फोरजी सेवा सुरु गर्ने भएको छ । टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

उनले परीक्षणका धेरै काम सफल भइसकेको र अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्न लागेको बताए । ग्राहकले ८४४४३ डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।

टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

मुख्य शहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिए । पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उनले बताए ।

यसैगरी दशैंलाई लक्षित गरेर टेलिकमले रिचार्जमा ग्राहकलाई बोनस उपलब्ध गराउने भएको छ । कम्पनीले यही असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज कार्ड अथवा एमपोसमार्फत रिचार्ज गर्दा यस्तो सुविधा उपलब्ध गराएको हो ।

रिचार्ज कार्डबाट दुई सय रुपियाँसम्म रिचार्ज गर्दा १० प्रतिशत र पाँच सयदेखि एक हजार रुपियाँसम्म रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

यस्तो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै नयाँ फोरजी ग्राहकलाई दुई दिनको अवधिसम्म प्रयोग गर्न मिल्ने दुई सय एमबी डेटा बोनसका रूपमा उपलब्ध गराउने भएको छ । पोस्टपेड ग्राहकलाई निःशुल्क मिस्ड कल अलर्ट र प्रिपेड ग्राहकलाई छठसम्म सोही किसिमको सुविधा कम्पनीले उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्