इपिएल : काठमाडौं क्वालिफायर्समा, डिफेन्डिङ च्याम्पियन विराटनगर बाहिरियो



काठमाडौं : एभरेस्ट प्रिमियर लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा विराटनगरलाई हराउँदै काठमाडौं क्वालिफायर्स राउन्डमा प्रवेश गरेको छ । यता डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्स काठमाडौं किङ्ससँग ५ विकेटले पराजित भएपछि चितवन टाइगर्स भने प्लेअफमा पुगेको छ ।

राजधानीमा जारी लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजित भएसँगै विराटनगर बाहिरिएको छ । विराटनगर बाहिरिएपछि समान अंक भएको चितवन रन रेटका आधारमा प्लेअफमा पुगेको हो । चितवनले अब बुधबार भैरहवा ग्ल्याडिएटर्ससँग एलिमिनेटर खेल खेल्नेछ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको एक सय एक रनको लक्ष्य काठमाडौंले ५ विकेट गुमाउँदै १७.५ ओभरमा प्राप्त गर्याे ।

काठमाडौंलाई जिताउन आइरिस खेलाडी केबिन ओब्राइनले ४५ रन बनाए । यस्तै प्रदीप साहुले २१ रन बनाउँदा अमित श्रेष्ठले १४ रन बनाए ।

 

विराटनगरका लागि कप्तान पारस खड्का र रोइलोफ भान डेर मेर्वेले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा सय रन बनाउँदा रनमा अलआउट भएको थियो ।

 

जित्नै पर्ने दबाबमा रहेको विराटनगरका लागि सुमित महर्जनले २५, हरि चौहानले २२ तथा कप्तान पारस खड्काले २१ रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन् ।

 

काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन शाहु र विक्रम भुसालले दुई–दुई विकेट लिए । काठमाडौंले अब फाइनल प्रवेशका लागि ललितपुर प्याट्रिएट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

 

लिगकाे जारी सिजनमा विजेताले २५ लाख रुपैयाँ पाउने आयाेजकले जनाएकाे छ । यसैगरी दाेस्राे हुने टाेलीले १० लाख रुपैयाँ पाउनेछ । सिजनकै उत्कृष्ट खेलाडीले टिभिएस अपाचे आरटिआर १६० फाेर भी माेटरसाइकल प्राप्त गर्ने आयाेजकले साेमबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्