सेयर बजारमा वृद्धि जारी, १५ अ‌ंकले बढ्याे नेप्से



काठमाडौं : धितोपत्र बजारमा साेमबार सेयर मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । सेयर लगानीकर्ता दबाब समूहले कारोबारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १ सय ८२ दशमलव ७८ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा नेप्से परिसूचक एक दशमलव तीन शून्य बिन्दुले बढेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ बिन्दुले बढेर २ सय ५१ दशमलव ६३ बिन्दुमा पुगेको छ । 

साेमबार कुल १ सय ५९ कम्पनीको १२ लाख ६० हजार ५ सय १८ कित्ता सेयर ४२ करोड तीन लाख ५३ हजार ५ सय १५ रुपैयाँमा खरिदबिक्री भयो । स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्रै बजार घटेको छ ।

 

व्यापार तीन दशमलव शून्य चार बिन्दुले घटेको छ । बैंकिङ नौ दशमलव १५, होटल शून्य दशमलव ७१, विकास बैंक आठ दशमलव पाँच, जलविद्युत् पाँच दशमलव ३७, वित्त शून्य दशमलव ५२, निर्जीवन बिमा २ सय २० दशमलव ५१, उत्पादन २३ दशमलव २१, अन्य एक दशमलव ४४, लघुवित्त ४० दशमलव २१ तथा जीवन बिमा १ सय ९५ दशमलव नौ बिन्दुले बढेको छ । 

स्टकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, पूूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् । यस्तै कालिका पावर कम्पनी, ग्लोबल आइएमई समुन्नति स्किम एक, स्वदेशी लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्