काम छाडी भाग्न खोज्ने मेलम्चीका विदेशी कामदार समातिए



काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको काम नसकिँदै स्वदेशतर्फ भाग्ने तयारी गरेका आठ विदेशी कामदार पक्राउ गरेका छन् ।  क्रिस्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर हिँडेका उनीहरुलाई आइतबार राति प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । उनीहरुले स्वदेश फर्कन टिकटसमेत लिइसकेको बताइएको छ । 

 

ती कामदार आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीअन्तर्गत कार्यरत थिए । 

सम्बन्धित निकायले उनीहरुलाई नियन्त्रणमा लिन अनुरोध गरेपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली खटिएको थियो । टोलीले ठमेलको एक रेस्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । समातिएका सबैलाई खानेपानी मन्त्रालयको जिम्मा लगाइएको वृत्तका प्रमुख दानबहादुर मल्लले बताए ।

 

पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहितका कामदार छन् । यसअघि पक्राउ परेको अर्का एक कामदारको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि ती कामदारलाई अध्यागमनले रोकेको थियो ।

 

अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् । मन्त्रालयले उनीहरुको पासपोर्ट नियन्त्रणमा लिएको छ । कम्पनीको स्थिति कमजोर बन्दै गएपछि आफूहरु स्वदेश फर्कन खोजेको पक्राउ परेकाहरुले स्विकारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्