अवैध चलनका कारण भारतीय ठूला नोटमा रोक : राष्ट्रबैंक



कैलाली : नेपाल राष्ट्रबैंक धनगढीका निर्देशक किरण पाण्डेले नेपालमा भएका भारतीय ठूला नोट अवैध तरिकाले भित्रिएका कारण सर्वसाधारणले घाटा बेर्होनुपरेको बताएका छन् ।

 

उनले पाँच सयभन्दा ठूला नोट विसं २०१६ देखि नै नेपाल ल्याउन नपाइने भए पनि अवैधानिक तरिकाले भित्रिँदा समस्या भएको बताए । ‘पहिलादेखि नै भारतीय सय रुपैयाँको नोटमात्रै ल्याउने अनुमति थियो,’ उनले भने, ‘अहिले आएर सरकारले दुई सय रुपैयाँका भारतीय नोट बन्द गर्नु कुनै नौलो कुरा होइन ।’

 

भारत सरकार तथा भारतीय रिजर्व बैंकले सन् २०१६ को नोभेम्बर ९ सम्म चलनचल्तीमा रहेका भारतीय पाँच सय र हजारका नोट बन्द गर्ने निर्णय गरेसँगै नेपाल सरकारले भारतीय ठूला नोट नल्याउन भन्दै सूचना जारी गरेको निर्देशक पाण्डेले बताए ।

 

सुदूरपश्चिम प्रदेशका अधिकांश मानिसको आयस्रोत भारतमा गरिने मजदुरी भएका कारण सबैले आर्थिक कारोबार गर्दा बैंकको प्रयोग गर्न समेत निर्देशक पाण्डेले आग्रह गरे । 

 

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयलाई समस्या उत्पन्न भएको छ । सरकारले एकाएक भारतीय दुई सय, पाँच सय र दुई हजारका नोट नचलाउने निर्णय गरेपछि सुदूरपश्चिम प्रदेशका जनता समस्यामा परेका छन् ।

 

धेरै संख्यामा सुदूरपश्चिमका बासिन्दा कामका लागि भारत जाने र उनीहरूले कमाएर भारतीय रुपैयाँ नै ल्याउने गरेकाले यहाँ बढीजसो भारतीय रुपैयाँको कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्