धमाधम पक्राउ पर्दै प्रतिवादी 



                         प्रहरीले पक्रेर जिल्ला अदालत मोरङमा बुझाउन ल्याएका फरार मदन मियाँ (बायाँ) र मुकेश मण्डल । 

 

विराटनगर : मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका १० जनालाई एक हप्ताको अवधिभित्र पक्राउ गरिएको छ । 

 

जबर्जस्ती करणी, लागुऔषध, बहुविवाह, चोरी र अंशवण्डालगायत मुद्दामा दोषी ठहर प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा बुझाएको हो ।

 

फरार प्रतिवादी खोजी अभियानलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । उनका अनुसार जबर्जस्ती करणीका तीन, लागुऔषधका तीन, बहुविवाहका दुई, चोरीका एक र अंशवण्डा मुद्दाका दुई जना प्रतिवादीलाई पक्राउ गरिएको छ ।

 

अंश मुद्दाबाहेकका प्रतिवादीलाई अदालतले ४५ दिनदेखि तीन वर्षसम्म कैद र जरिवानाको फैसला गरेको थियो । अंशवण्डा मुद्दाका प्रतिवादीलाई भने अदालतले जरिवानाको फैसला सुनाएको थियो । 

लागुऔषध र बहुविवाह मुद्दाका दुई प्रतिवादीलाई पक्राउ गरी प्रहरीले सोमबार मात्रै अदालत पेस गरेको छ । लागुऔषध मुद्दामा दोषी ठहर भएर फरार रहेका सुनवर्षीय नगरपालिका ८ का ४० बर्से मदन मियाँ र बहुविवाह मुद्दामा फरार रंगेली नगरपालिका ७ का २७ बर्से मुकेश मण्डललाई प्रहरीले पक्रेको हो । मियाँ साढे चार वर्षदेखि र मण्डल अढाई वर्षदेखि फरार थिए ।

 

जिल्ला अदालतले मियाँलाई २०७१ असार १८ गते दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । साइकलमा गइरहेको अवस्थामा सुनवर्षी नगरपालिका ६ झपडतलबाट सोमबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । ट्रयाक्टरमा लागुऔषध (कोरेक्स) बोकेका मियाँ त्यतिबेला प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिँदा फरार भएका थिए । 

 

त्यस्तै बहुविवाह मुद्दमा मण्डललाई मोरङ अदालतले २०७३ जेठ २ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो । प्रहरी र अदालतको फरार सूचीमा रहेका उनी जुट मिलमा काम गर्दै आएको खुलेको छ ।

 

मिलमा काम गर्न विराटनगर आउने क्रममा बस चढ्दै गर्दा रंगेली ७ पिपल चोकबाट आइतबार साँझ उनलाई प्रहरीले पक्रेको हो  । जिल्ला अदालत मोरङमा सोमबार बुझाइएका दुवैलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्