अदालतले रोकेको रकम अदालतकै कर्मचारीले प्रतिवादीलाई दिएपछि…



विराटनगर : जिल्ला अदालत मोरङमा कार्यरत कर्मचारीले अदालतको आदेशबाट रोक्का राखेको रकम प्रतिवादीलाई नै भुक्तानी दिएर पठाएको घटना सार्वजनिक भएको छ । 

यस घटनाबाट अदालतको आदेशलाई त्यहाँकै कर्मचारीले पालना नगर्ने पुष्टि भएको छ । अदालतको आदेशबाट रोक्का राखिएको कुनै पनि चल–अचल सम्पत्ति अदालतकै आदेशबाट फुकुवा भएपछि मात्रै भोगचलन गर्न पाउने तथा नगदको हकमा सम्बन्धित व्यक्तिलाई भुक्तानी दिन पाउने कानुनी व्यवस्था छ ।

 

तर त्यही व्यवस्थाको खिल्ली उडाउँदै अदालतले रोक्का राखेको १४ लाख ९१ हजार ५४ रुपैयाँ नगद प्रतिवादी विराटनगर ३ का केदार पराजुलीलाई कर्मचारीले दिएका हुन् । यस घटनाले अदालतको लेखा र अभिलेख शाखाका कर्मचारीको चरम बदमासी र लापरवाहीलाई बाहिर ल्याएको छ । कर्मचारीसँग साँठगाँठ गरेर रोक्का राखेको रकम उम्काउन सफल पराजुली भने भारत भागेको आशंका छ ।

 

विराटनगर ३ का सेमन्तराज अधिकारीकी पत्नी विष्णुमाया नेपाल (अधिकारी) ले पराजुलीविरुद्ध २०७४ फागुन २९ गते लेनदेन मुद्दा अदालतमा दर्ता गरेकी थिइन् ।

 

अढाई महिनामा तिर्ने सर्तमा ०७१ भदौ १५ गते वार्षिक १० प्रतिशत ब्याज बुझाउने गरी कपाली तमसुक गरेर १९ लाख रुपैयाँ पैसा विष्णुमायाले पराजुलीलाई दिएकी थिइन् । लामो समयसम्म पैसाको साँवा र व्याज नपाएपछि उनी पराजुलीविरुद्ध अदालत पुगिन् ।

 

 

मुद्दा दर्ता गर्ने क्रममा पराजुलीका नाममा उनैले पाउने गरी १४ लाख ९१ हजार ५४ रुपैयाँ अदालतमा जम्मा रहेको खुलेको थियो । उक्त रकम अर्को लेनेदेन मुद्दामा पराजुलीले पाउने गरी विराटनगर ३ कै बबिता बानियाँ (रायमाझी) ले ०७४ साउन ११ गते अदालतको लेखा शाखामा जम्मा गरिदिएकी थिइन् ।

 

पराजुलीले बबितालाई समेत प्रतिवादी बनाएर पति राजकुमारविरुद्ध ०७१ चैत २५ गते दर्ता गरेको लेनदेन मुद्दामा अदालतले ०७३ जेठ २५ मा वादी दाबी ठहरिने गरी फैसला सुनाएको थियो । त्यही मुद्दा हारेपछि बबिताले पराजुलीले पाउने गरी अदालतमा रकम जम्मा गरिदिइन् ।

 

 

बबिता र उनका पतिलाई प्रतिवादी बनाएर मुद्दा हालेका उनै पराजुलीले मुद्दा जितेर दम्पतीबाट रकम पाउने भए पनि उनीविरुद्ध परेको अर्को मुद्दामा भने रकम तिर्नुपर्ने फैसला अदालतले गरिदियो । लेनदेनको अर्को मुद्दामा प्रतिवादी बनाइएका पराजुलीले पाउने उक्त रकम तत्काललाई रोक्का राखी पाऊँ भनी विष्णुमायाले ०७४ फागुन २९ गते नै अदालतमा निवेदन दिइन् ।

 

त्यसको भोलिपल्ट नै न्यायाधीश नवराज दाहालको इजलासले उक्त रकम निज केदार पराजुलीलाई भुक्तानी नदिनू भनी आदेश दियो । आदेशको पत्र अदालतको लेखा शाखामा पनि पुग्यो । 

 

विष्णुमायाले केदारलाई प्रतिवादी बनाएर दर्ता गरेको मुद्दामा ०७५ असार २७ गते न्यायाधीश नवराज दाहालकै इजलासले भरी भराऊ मिति तक सम्मको ब्याज प्रतिवादीबाट भराई लिने गरी वादी दाबी ठहरिने फैसला गर्‍यो ।

 

अदालतको फैसलाअनुसार १९ लाख साँवा र १० प्रतिशत ब्याजसहित केदारले २५ लाख ७२ हजार दुई सय ८६ रुपैयाँ पैसा वादी विष्णुमायालाई तिर्नुपर्ने देखियो ।

 

फैसलाबमोजिम बिगो भराई पाउनुपर्ने माग राखेर विष्णुमायाले गत असोज १६ गते अदालतको तहशिल शाखामा निवेदन दर्ता गरिन् । यस विषयमा कारवाही के हुँदैछ भनेर चार दिनअघि बुझ्न जाँदा पराजुलीले अदालतबाट रोक्का राखेको रकम झिकिसकेको पाइएको पीडित विष्णुमायाका पति समेन्तराज अधिकारीले बताए ।

 

उनका अनुसार लेखाअधिकृत शान्तबहादुर थापाले रोक्का राखेको अवस्थाको रकम पराजुलीलाई दिएको देखिन्छ ।

 

 

अभिलेख र लेखा शाखाबाट उठाएको टिप्पणी अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले मंसिर ११ गते सदर गरेपछि लेखा अधिकृत थापाले पराजुलीलाई मंसिर १२ गते भुक्तानी दिएको अधिकारीको भनाइ छ । 

 

अभिलेख र लेखा शाखाबाट उठाएको टिप्पणी अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले मंसिर ११ गते सदर गरेपछि लेखा अधिकृत थापाले पराजुलीलाई मंसिर १२ गते भुक्तानी दिएको अधिकारीको भनाइ छ । 

 

स्रेस्तेदार ईश्वरमणि ओझाले यस घटनामा कमजोरी भएको स्वीकार गर्दै यसलाई मानवीय भुलका रूपमा लिनुपर्ने बताए । ‘यस विषयमा छानबिन थालिएको छ,’ उनले भने, ‘लेखा र अभिलेख शाखालाई सात दिनको म्याद दिएर स्पष्टीकरण सोधिसकिएको छ ।’ उनले कमजोरी पत्ता लगाएर कारवाही गरिने बताए ।

 

‘रोक्का राखिएकै अवस्थाको पैसा लिने प्रतिवादीको पनि खोजीका लागि प्रहरीसँग पनि समन्वय गर्ने काम भइरहेको छ,’ ओझाले भने, ‘असुलउपर गर्न उसका नाममा भएका चलअचल सम्पत्ति खोजी गर्न थालिएको छ ।’

 

उनले प्रहरी प्रशासनसँगको सहयोगमा आदेशविपरीत रकम लिएर भागेका पराजुलीलाई खोजेर उक्त रकम असुलउपर गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्