निर्मलाका हत्यारा पत्ता लगाउन गठित अनुसन्धान समितिले बुझायाे प्रतिवेदन



काठमाडौँ : कञ्चनपुर भीमदत्तनगर उल्टाखामकी बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा खटिएको टोलीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालाई घटना अनुसन्धानपछिको प्रतिवेदन बुझाएको छ ।

 

एआईजी धीरु बस्न्यात संयोजकत्वको टोलीले छानबिन गरेको हो । यसअघि गठित विभिन्न अनुसन्धान टोलीले प्रतिवेदन बुझाए पनि घटनाको सत्यता पत्ता लाग्न नसकेपछि सरकारले एआईजी बस्न्यातको टोलीलाई त्यसतर्फ पठाएको हो ।

 

बस्न्यातको टोलीले सोमबार आईजीपी खनालसमक्ष प्रतिवेदन बुझाएको हो । स्रोतका अनुसार बलात्कारपछि हत्या भएको निर्मला प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाहीको सिफारिससहित बस्न्यातले छानबिन प्रतिवेदन बुझाएका हुन् । 

 

एआईजी बस्न्यात संयोजकत्वको समितिले प्रहरी प्रधान कार्यालयबाट पाएको कार्यदेशबमोजिम अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकारीहरूमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएको हो । 

 

निर्मलाको हत्यापछि पक्राउ परेका दिलीपसिंह विष्टलाई पक्राउ गरी २४ दिनसम्म हिरासतमा राखेर उनैलाई मुख्य अभियुक्त बनाएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको थियो । 

 

तत्कालीन जिल्ला प्रहरी प्रमुख दिल्लीराज विष्ट नेतृत्वको कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट खटिएका डीएसपी अंगुर जिसीसहितको टोलीले दिलीपसिंहलाई मुख्य दोषीका रूपमा सार्वजनिक गरेका थिए । 

 

तर निर्मला प्रकरणमा मुख्य अभियुक्त बनाइएका सिंहको डीएनए नमिलेपछि उनलाई रिहा गरिएको थियो । त्यसपछि प्रहरी अनुसन्धानमा बदमाशी भएको ठहर गर्दै प्रहरी प्रधान कार्यालयले छानबिनको जिम्मा एआईजी बस्न्यतालाई दिएको थियो ।

 

बस्न्यात संयोजकत्वको छानबिन समितिले घटनाका मुख्य अभियुक्तलाई जोगाउने नियतका साथ घटनामा संलग्नै नभएकालाई फसाउन खोजेकाले प्रहरी अधिकारीहरुलाई विभागीय कारबाहीको सिफारिस गरिएको स्रोतले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्