निर्मला हत्या प्रकरण: तीन दर्जन प्रहरी कारबाहीमा पर्ने



काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै करिब तीन दर्जन प्रहरीमाथि कारबाहीका लागि सिफारिस भएको छ ।

 

एआइजी धीरु बस्नेत नेतृत्वको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई विभागीय कारबाहीका लागि ‘राय’ दिएको हो । प्रहरीले अभियुक्तलाई जोगाउन प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गरेको अवस्था नरहेको समितिले निष्कर्ष निकालेको छ ।

 

सो घटनामा प्रहरीले वास्तविक अभियुक्त जोगाउने प्रयास गरेको आरोप लाग्दै आएको छ । तर, नियोजित नभए पनि अनुसन्धानको क्रममा लापरबाही गरेको निष्कर्ष छानबिन समितिको छ । धेरै प्रहरी आफ्नो दायित्वमा चुकेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ । ‘कुन प्रहरीले अनुसन्धानमा कस्तो गल्ती गरेको थियो, प्रस्ट रूपमा प्रतिवेदनमा दिएका छौँ,’ समितिका एक अधिकारीले भने, ‘तर, अनुसन्धानमा भएको गल्ती नियोजित हो भन्न सक्ने आधार देखिएन ।’ ३१ भदौमा गठन भएको समितिले अध्ययन र विश्लेषणपछि विभिन्न सुझाबसहित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको हो ।

 

केही प्रहरीलाई सेवाबाटै हटाउने विभागीय सजाय गर्न समितिले राय दिएको छ । खासगरी घटनास्थलमा खटिने मुचुल्का बनाउने टिम र अनुसन्धान अधिकृतलाई अधिकतम सजाय हुने एक अधिकारीले बताए । ‘हामीले कार्यादेशअनुसार अनुसन्धानमा प्रहरीको गल्तीको पाटो केलाएर प्रतिवेदन बुझाएका छौँ,’ समितिका संयोजक एआइजी बस्नेतले भने, ‘प्रतिवेदन सात सय पृष्ठभन्दा लामो छ ।’

 

तीन दर्जन प्रहरी कारबाहीमा पर्ने

समितिको सिफारिसअनुसार करिब तीन दर्जन प्रहरीमाथि विभागीय कारबाही हुनेछ । यसअघि नै गृह मन्त्रालयले एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाउने निर्णय गरिसकेको छ । डिएसपीहरू अंगुर जिसी, ज्ञानप्रसाद सेठी, इन्स्पेक्टर एकेन्द्र खड्कालगायतलाई पनि कारबाहीको सिफारिस भएको छ । डिएसपी जिसी, इन्स्पेक्टर खड्का, असई रामसिंह धामी, सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा छन् ।

 

निलम्बन गरिएका डिएसपी ज्ञानबहादुर सेठीले अनिवार्य अवकाश पाइसकेका छन् । घटनास्थलका पुगेका र अनुसन्धानमा खटिएका सबै प्रहरी कारबाहीमा पर्ने स्रोत बताउँछ । घटनास्थलको सुरक्षासमेत गर्न नसकेको तथा निर्मलाका कपडा प्रमाणस्वरूप राख्नुपर्नेमा त्योसमेत जलाउनुलाई गम्भीर लापरबाहीका रूपमा प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रहरी जवान चाँदनी साउदले मृतकको कपडा पानीमा चोपलेर उनको शरीर छोपिदिएकी थिइन् । प्रमाण नष्ट गर्न त्यसो गरिएको आरोप लागेको थियो । कसैको निर्देशनमा नभई माटो लागेको सुरुवाल पानीमा चोपलेर मृतकको गोप्य अंग छोपिएको उनको बयान छ ।

 

अनुसन्धानमा डिएनए रिपोर्ट पर्खंदै प्रहरी

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नेतृत्वमा सो घटनाको अनुसन्धान भइरहेको छ । जसमध्ये महेन्द्रनगरकै प्रदीप रावल र विशाल चौधरीलाई थुनामै राखेर अनुसन्धान भइरहेको छ । उनीहरूले आरोप स्वीकार गरेको र प्राविधिक अनुसन्धानमा पनि उनीहरूको संलग्नताको पर्याप्त आधार देखिएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेको नयाँपत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्