गुट विवादले कांग्रेस महासमिति बन्दसत्र प्रभावित



काठमाडौ : विधान मस्यौदामा सहमति नजुटेपछि कांग्रेस महासमिति बैठक प्रभावित बनेको छ। सहमति जुटाउन आइतबारदेखि नै सुरु गरिएको संवादले कुनै नतिजा दिन सकेको छैन ।

सोमबार बिहान पदाधिकारी बैठक बस्यो । सभापति शेरबहादुर देउवाले आफ्नो अनुपस्थितिमा उपसभापति विजय गच्छदारलाई बन्द सत्रको अध्यक्षता गरिदिन आग्रह गरे । तर महासमिति सदस्यले अस्वीकार गरे । उनीहरुले हलमा नाराबाजी समेत गरे । त्यसपछि बन्दसत्र स्थगित गरेर देउवा पदाधिकारी बैठकमा गए ।

दुई घण्टाका लागि भनेर सोमबार बिहान साढे १० बजे बन्दसत्र स्थगित गरिएको थियो । संसदीय दलको कार्यालयमा सुरु भएको पदाधिकारी बैठक लम्बियो । यसले पनि सहमति जुटाउन सकेन । त्यसैले केन्द्रीय समितिको बैठक बस्ने भनेर नेताहरु निस्किए । तर, केन्द्रीय समिति बस्न सकेन ।

दिनभरीको समय यी बैठकमा बितेपछि महासमिति बन्दसत्र साँझ मात्र पुनः सुरु भयो ।

यसअघि हप्तौँसम्म चलेको केन्द्रीय समिति बैठकले पनि विधान मस्यौदाबारे शीर्ष नेताबीच सहमति जुटाउन सकेको थिए । बरु महासमितिमै लगेर त्यसलाई पारित गर्ने सहमति गरिएको थियो ।

पार्टीको नयाँ विधानमा पदाधिकारी संख्या बढाउन नेताहरु सहमत भए पनि मनोनित र निर्वाचित गर्नेमा मत बाँडिएको छ । सभापतिले केन्द्रीय समितिमा मनोनित गर्ने प्रतिशत, समानुपातिक समावेशी सूची मिलाउनेलगायतका विषयमा सोमबार अबेरसम्म सहमति हुन सकेन । नेताहरुले आआफ्नो गुट सुरक्षित गर्न खोज्दा सहमति हुन नसकेको सहभागीहरुले बताए । ‘विधानमा अझै सहमतिको प्रयास जारी छ । हामी निकट पुगेका छौँ,’ पदाधिकारी बैठकपछि महामन्त्री शशांक कोइरालाले भने ।

मस्यौदा समितिका सदस्य रमेश लेखकले पहिलेदेखि नै असहमति रहेका केही बुँदामा मत मिल्न नसकेको बताए । बैठकमा सहभागी एक नेताका अनुसार महासमिति बैठकको बन्दसत्र अघि बढिसकेकाले असहमतिका विषयलाई केन्द्रीय समिति वा पार्टीको १४ औँ महाधिवेशनबाट छिनोफानो गर्नेगरी महासमितिले विधान पारित गर्नेबारे छलफल थालिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्