स्मार्ट मिटरका लागि सर्वेक्षण शुरु



काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्ने तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकाङ्क्षी योजनाका रुपमा अगाडि बढाएका छन्। स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ लागू हुनेछ ।

जसले गर्दा मिटर रिडिङको लागत घट्ने प्राधिकरणको विश्वास छ । यसबाट वितरण सेवालाई आधुनिकीकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार ल्याउने र समग्र वितरण प्रणाली सञ्चालन दक्षता बढाउने छ ।

निर्माण व्यवसायी कम्पनीले ग्राहकको घरघरमा गएर तथ्याङ्क सङ्कलनको काम गरिरहेको आयोजना संयोजक जुजुरत्न शाक्यले बताए। उनले तथ्याङ्क सङ्कलन गर्न आउने सर्वेक्षकलाई आवश्यक जानकारी उपलब्ध गराइदिन आग्रहसमेत गरे ।

नेपाल सरकारको लगानी र एशियाली विकास बैंक (एडीबी) को सहुलितपूर्ण ऋणमा स्मार्ट मिटर प्रणालीलाई काठमाडौं उपत्यकामा नमूना परियोजनाको रुपमा अघि बढाइएको हो । स्मार्ट मिटर जडानलाई मलुकभर नै विस्तार गर्ने प्राधिकरणको योजना छ ।

रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डमको संयुक्त उपक्रमले ठेक्का पाएको छ । सो कार्य आगामी वर्षको पुसभित्रमा सक्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्