गैंडाको कथा, बाढीले लग्यो, गुलेलीले ल्यायो



नवलपरासी: बर्खायाममा राप्तीको बाढीले नेपाली भूमि मात्र बगाउँदैन, जंगली जनावर पनि उसैगरी बगाउँछ । बगाएको भूमि फिर्ता सम्भव भएन तर राप्ती बाढीले बगाएर भारत पु¥याएको एउटा गैंडालाई भने एक वर्षपछि सुस्ताका स्थानीयवासीले गुलेलीको सहाराले नेपाल फर्काएका छन् ।

 

गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करिब १५–२० वर्षको पोथी गैंडालाई आइतबार राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । नवलपरासीको सुस्तानजिकै भारतको जंगलमा रोकिएको गैंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ ।

 

उद्धार गरिएको गैंडालाई राति करीब ११ बजे चितवन निकुञ्जको तमोर तालनजिकै ल्याएर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।गैंडा सुस्तामा आएपछि उद्धार गरी निकुञ्ज ल्याइएको हो । निकुञ्जका कर्मचारी र स्थानीयवासीले गैंडा फर्काउन गरेको प्रयास भने निकै रोचक छ ।

 

भारतीय सुरक्षाकर्मी र कर्मचारीले बाढीले बगाएर भारत पु¥याएको गैंडा नेपाल फर्कन नपाओस् भनेर कसरत गरिरहेका थिए । निकुञ्जका कर्मचारी र स्थानीयवासी मध्यरातमा सीमा नजिकै जंगलमा पुगे । गैंडा बसेको ठाउँ भेटियो ।  गैंडा देख्नेबित्तिकै भारततर्फको भूभागबाट स्थानीयवासीले गैंडालाई गुलेलीले हाने । गुलेलीको डरले गैंडा विस्तारै नेपालतर्फ लाग्यो । अन्ततः नेपाली भूमितर्फको उखुबारीमा आइपुग्यो गैंडा ।

 

स्थानीयवासीले गैंडा नेपाल ल्याउन बेहोस बनाउने सुई पनि लगाउन नखोजेका होइनन् तर बेहोस भएर गैंडा पुनः भारततर्फ जाने डरले उनीहरूले बेहोस बनाउनुको सट्टा गुलेलीले हान्ने जुक्ति निकाले ।

नेपाल आएको गैंडा भारत नजाओस् भनी सुस्तावासीले ट्याक्टरको बार बनाएर बल्लबल्ल गैंडालाई नेपाली भूमिमा ल्याए । सुस्तावासीले गैंडा उद्धारमा ठूलो सहयोग गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । आइतबार दिउँसो २ः५० बजे उद्धार भएको गैंडालाई साँझ ठूलो डुंगामार्फत नारायणी तारेर नवलपरासीको त्रिवेणी ल्याइयो । त्यसपछि ट्रकमा राखेर राति नै चितवन लगिएको राजधानीमा खवर छ ।

 

बाढीले बगाएका गैंडालाई निकुञ्जका कर्मचारीले स्थानीयवासीको सहयोगमा डुंगामा तारेर ल्याइएको यो दोस्रोपटक हो । अझै दुईवटा गैंडा भारतमा रहेको र उक्त गैंडा रहेको क्षेत्र गैंडाका लागि उपयुक्त बासस्थान नभएकाले निकुञ्ज ल्याउन पहल भइरहेको ढकालले बताए । भारतमा रोकिएका बाँकी दुई गैंडा पनि भारतले नेपाल ल्याउनका लागि अनुमति दिएको छैन ।

 

गैंडालाई नेपाल ल्याउन आफैं सुस्ता पुगेका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सुस्तावासीको सहयोगले भारत पुगेको गैंडा नेपाल ल्याउन सफल भएको बताए ।राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जका वन्यजन्तु प्राविधिक तथा पशु चिकित्सकसहित ३० भन्दा बढी संरक्षणकर्मी उद्धारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्