गाउँपालिकाको कार्यक्रम जनप्रतिनिधिबाटै बहिष्कार



रामेछाप : खाँडादेवी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रम वडाध्यक्षहरूले बहिष्कार गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको व्यवहार हुकुमी, तानाशाह र अपारदर्शी भएको भन्दै कार्यक्रम बहिष्कार गरेको उनीहरूले जनाएका छन् ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका सबै वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूसमेतले बहिष्कार गरेको वडा ३ का अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए । खाँडादेवीले १ करोड १० लाखमा नयाँ भवन बनाएको हो । 

प्रक्रिया पुर्‍याएरै काम गरेको छुः अध्यक्ष तामाङ

गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले भने आफूले प्रक्रिया पुर्‍याएरै काम गरेको दाबी गरेका छन् । वडाध्यक्षहरूले भनेजस्तो नभई सबै प्रक्रियागत ढंगले नै काम गरेको उनको तर्क छ । 

उनले पदाधिकारी तथा कर्मचारी आवास निर्माणमा इन्द्रसिंह लामाको अध्यक्षतामा उपभोक्ता समिति बनाई निर्माण गरिएको दाबी गरे । यसअघि वडाले गर्नुपर्ने पाँच लाखभन्दा माथिका योजनाहरू टेन्डरबाट गर्ने आफ्नो प्रस्तावलाई अस्वीकार गरेको र त्यसैका कारणले गर्दा उनीहरू आफूहरूविरुद्ध लागेकाले कार्यक्रममा उपस्थिति नभएको हुन सक्ने तामाङले बताए ।

छुट्टै कार्यक्रम गरेर बहिष्कारबारे प्रस्टोक्ति 

वडाध्यक्ष र सदस्यहरूले विज्ञप्ति नै जारी गरेर असहमति जनाएका छन् । भवन उद्घाटन कार्यक्रममा सहभागी हुन हिँडेका मन्त्री ढुंगेललाई वडाध्यक्षहरूले पकरबासको गोगनपानीमा रोकेर आफूहरू उपस्थित हुन नसक्नुको कारणबारे जानकारी गराएका थिए । 

अध्यक्ष तामाङको व्यवहारमा आमूल परिर्वतन आवश्यक रहेको र सबै काम पारदर्शी हुनुपर्ने भन्दै उनीहरूले त्यसको पहल गर्न मन्त्री ढुंगेलसमक्ष आग्रह गरेको पालिकाका प्रवक्तासमेत रहेका कार्कीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्