गाउँपालिकाका कर्मचारीको धारिलो हतियार प्रहार गरी हत्या



सप्तरी: जिल्लाकै तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत एक पालेको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । कार्यालयको पाले पदमा कार्यरत तिलाठी कोइलाडी गाउँपालिका १ निवासी २७ वर्षीय पर्शुराम मिश्रको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

 

कर्तव्य पालनकै क्रममा शनिबार राती सोही वडाका शैलेन्द्र मुखियासहितको समूहले बञ्चरोले घाँटीमा प्रहार गरेपछि गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

 

तर, त्यहा उपचार सम्भव नभएपछि घाइते मिश्रलाई थप उपचारका लागि बिराटनगर रेफर गरिएको थियो । उपचारका लागि बिराटनगर तर्फ लैजाँदै गर्दा बाटोमै घाइते मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो घटनापछि आक्रोशित स्थानियवासीले सोमबार बिहानैदेखि राजविराज–कुनौली सडकखण्ड अवरुद्ध पारेका छन् ।

 

उनीहरुले घटनामा संलग्न रहेकाहरुलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले घटनामा संलग्न अपराधीहरुको पहिचान भइसकेको र खोजी कार्य तीव्र बनाएको जानकारी दिएका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्