कांग्रेस महासमितिः देउवा, पौडेल र कोइरालाले दिए पालैपालो रात्रीभोज



काठमाडौं: विधान मस्यौदामा सहमति नजुटेपछि कांग्रेस महासमिति बैठक प्रभावित बनेको छ । सहमति जुटाउन आइतबारदेखि नै सुरु गरिएको संवादले कुनै नतिजा दिन सकेको छैन । सोमबार बिहान पदाधिकारी बैठक बस्यो । सभापति शेरबहादुर देउवाले आफ्नो अनुपस्थितिमा उपसभापति विजय गच्छदारलाई बन्द सत्रको अध्यक्षता गरिदिन आग्रह गरे ।

 

तर महासमिति सदस्यले अस्वीकार गरे। उनीहरुले हलमा नाराबाजी समेत गरे। त्यसपछि बन्दसत्र स्थगित गरेर देउवा पदाधिकारी बैठकमा गए । दुई घण्टाका लागि भनेर सोमबार बिहान साढे १० बजे बन्दसत्र स्थगित गरिएको थियो ।

 

संसदीय दलको कार्यालयमा सुरु भएको पदाधिकारी बैठक लम्बियो। यसले पनि सहमति जुटाउन सकेन । त्यसैले केन्द्रीय समितिको बैठक बस्ने भनेर नेताहरु निस्किए । तर, केन्द्रीय समिति बस्न सकेन । दिनभरीको समय यी बैठकमा बितेपछि महासमिति बन्दसत्र साँझ मात्र पुनः सुरु भयो ।

 

यसअघि हप्तौँसम्म चलेको केन्द्रीय समिति बैठकले पनि विधान मस्यौदाबारे शीर्ष नेताबीच सहमति जुटाउन सकेको थिए। बरु महासमितिमै लगेर त्यसलाई पारित गर्ने सहमति गरिएको थियो। पार्टीको नयाँ विधानमा पदाधिकारी संख्या बढाउन नेताहरु सहमत भए पनि मनोनित र निर्वाचित गर्नेमा मत बाँडिएको छ। सभापतिले केन्द्रीय समितिमा मनोनित गर्ने प्रतिशत, समानुपातिक समावेशी सूची मिलाउनेलगायतका विषयमा सोमबार अबेरसम्म सहमति हुन सकेन ।

 

नेताहरुले आआफ्नो गुट सुरक्षित गर्न खोज्दा सहमति हुन नसकेको सहभागीहरुले बताए। ‘विधानमा अझै सहमतिको प्रयास जारी छ। हामी निकट पुगेका छौँ,’ पदाधिकारी बैठकपछि महामन्त्री शशांक कोइरालाले भने । मस्यौदा समितिका सदस्य रमेश लेखकले पहिलेदेखि नै असहमति रहेका केही बुँदामा मत मिल्न नसकेको बताए। बैठकमा सहभागी एक नेताका अनुसार महासमिति बैठकको बन्दसत्र अघि बढिसकेकाले असहमतिका विषयलाई केन्द्रीय समिति वा पार्टीको १४ औँ महाधिवेशनबाट छिनोफानो गर्नेगरी महासमितिले विधान पारित गर्नेबारे छलफल थालिएको छ।

 

पछिल्लो समय उपसभापति, महामन्त्री र सहमहामन्त्री दुईदुई जना, कोषाध्यक्ष र प्रवक्ता १ जना पदाधिकारी बनाउन सहमतिनिकट पुगेका थिए। देउवाइतरका पक्षले भने सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडान राख्दै आएका छन् ।

 

नेता सिटौलाले महासमितिजस्तो महत्वपूर्ण बैठकबाट पनि विधान पूर्ण रुपमा पारित गराउन नसके त्यसले पार्टीबारे राम्रो सन्देश नदिने अन्नपूर्णसँग बताए। ‘नेताहरु गम्भीर भए सहमती नहुने अवस्था म देख्दिनँ,’ उनले भने ।

 

महासमिति बुधबार सकिने

महासमिति बैठक एकदिन लम्बिएको छ। मंसिर २८ मा आरम्भ भएर मंगलबार सकिने भनिएको बैठक बुधबारसम्म सम्पन्न हुने भएको छ। बैठक नै एक दिन ढिला सुरु भएको र बोल्ने सदस्य पनि थपिएकाले समय लम्बिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनले महासमितिमा अहिलेसम्म बोल्नका लागी ५ सय सहभागीले नाम लेखाएको र अझै थपिने क्रम रहेको जानकारी दिए।

 

शनिबारदेखि सुरु भएको बन्दसत्रमा आइतबार दिउँसोबाट मात्रै सहभागीले धारणा राख्ने क्रम सुरु भएको छ। आइतबार ४९ जना बोलेका थिए भने सोमबार ३० जना। बिहान ६ जना बोलेपछि बैठक अवरुद्ध भएको थियो। सहभागीलाई बोल्न चार मिनेटको समय दिइएको छ। सोमबार नै जनसम्पर्क समितिबाट सहभागी भएका ११ नेताहरुले सामूहिक रुपमा महासमिति बैठकमा पेस भएको प्रतिवेदनबारे छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

 

महासमिति सदस्यलाई पालैपालो रात्रीभोज

केन्द्रीय समितिले यस पटकको महासमिति बैठकमा सहभागी हुन आउनेलाई बास र रात्री खानाको व्यवस्था नगर्ने निर्णय गरेको थियो। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री कोइरालाले पालै–पालो रातीको भोज आयोजना गरेका छन् । शनिबार देउवा, आइतबार पौडेल र सोमबार कोइरालाले रात्रीभोज   मंगलबारको रात्रिभोज कसले दिने तय नभएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्