आजदेखि फोरजी सेवा



काठमाडौं : नेपाल टेलिकमले देशका विभिन्न २६ शहरमा आज (बुधबार)देखि फोरजी सेवा सुरु गर्ने भएको छ । टेलिकमले देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा आजदेखि सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।

उनले परीक्षणका धेरै काम सफल भइसकेको र अन्य कुनै प्राविधिक समस्या नआएमा बुधबारदेखि परीक्षण पूरा भएका ठाउँमा व्यावसायिक रूपमै फोरजी सेवा सुरु गर्न लागेको बताए । ग्राहकले ८४४४३ डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।

टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

मुख्य शहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

त्यस्तै साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिए । पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्