निर्मला हत्या प्रकरणमा ‘यू र्टन’!



काठमाडौं : एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सरकारले निर्मला पन्त हत्या प्रकरणमा कसैलाई पक्राउ गर्न सकेको छैन । निर्मला पन्त हत्या प्रकरण एकपछि अर्को गर्दै झन रहस्यमय बन्दै गइरहेको छ । यसरी रहस्यमय बन्दै गएपछि यो हत्या काण्ड पेचिलो बन्न पुगेको छ ।

एक वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसक्दा आलोचित बनिरहेको गृह प्रशासन अहिले यो हत्या प्रकरणलाई नयाँ ढंगले अनुसन्धान गर्ने टुंगोमा पुगेको छ । यसका लागि गृहमन्त्रालयले विज्ञ टोली गठन गरेर नयाँ शिराबाट अनुसन्धान थाल्ने तयारी गरेको छ ।

रहस्यमय घटनाको रुपमा रहेको निर्मला हत्या प्रकरण त्यसबेला भिडले अनुसन्धानलाई प्रभावित पारेको भनेर अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुमाथि समेत कारबाही भएको थियो ।

त्यसबेला यो हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले दिलिप सिंह विष्टलाई नियन्त्रणमा लिएको थियो । तर, विष्ट निर्दोष भएको भन्दै आन्दोलननै भएपछि छाडिएको थियो । त्यसोत डिएनए परीक्षण गर्दा नमिलेको भन्दै विष्ट हिरासत मुक्त भएका थिए । यसरी उन्मुक्ति पाएका विष्ट माथि नै अहिले फेरी केन्द्रीत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अहिले गृहमन्त्रालयले विज्ञ टोली गठन गरेर अनुसन्धानका लागि कञ्चनपुर पठाउने तयारी गरेको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्व प्रमुख डा. जीवन रिजालको नेतृत्वमा विज्ञ टोली गठन गरी डीएनए परीक्षण गर्ने र विगतका कारण खोज्ने प्रक्रिया गृहमन्त्रालयले अघि बढाएको छ ।

यससँगै निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान ‘यू र्टन’ हुने सम्भावना देखिएको छ ।

डिएनए परीक्षण गम्भिर त्रुटि भएको भन्दै व्यापक आलोचना भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको छानबिन समितिले समेत त्यसबेला डिएनए परीक्षणमा गल्ति भएको औँल्याएको थियो । त्यसबेला केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा प्रमुखका रुपमा एसएसपी राकेश सिंह कार्यरत थिए । एसएसपी सिंहले निर्मला हत्या प्रकरणमा वंश जाँच गर्ने प्रविधि मार्फत डिएनए परीक्षण गरेका थिए । जुन प्रविधिमाथि गम्भिर प्रश्न उठ्दै सिंहमाथि कारबाहीको माग समेत उठेको थियो ।

विज्ञ टोली गठन गरेपछि एसएसपी सिंह लगाएत डीएनए परीक्षणमा संलग्न अधिकारीहरुमाथि कारबाही हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्