बन्दीहरुका लागि आवश्यक औषधी खरिद भएन



भापा : झापा कारागारका कैदीबन्दीका लागि औषधी खरिदमा पर्याप्त बजेट नहुँदा समस्या भएको छ । कारागार प्रमुख राजेन्द्रका अनुसार अढाई सय क्षमताको कारागारमा हाल पुरुष एक हजार २८ र महिला ९२ गरी एक हजार १२० कैदीबन्दी छन् । सानो ठाउँमा खचाखच कैदीबन्दी बस्नुपर्ने बाध्यताले प्रायः दैनिक १० भन्दा बढी बिरामी हुने गरेका छन् ।

कारागारमा दमका रोगी, मुटुरोगी, एचआईभीका बिरामी पनि छन् । यति धेरै कैदीबन्दी रहेको कारागारमा सरकारले औषधी उपचार खर्चका लागि चालू आर्थिक वर्षमा रु. १३ लाख मात्र बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटले छ महिना पनि नधान्ने देखिएको छ भने जेलको साँघुरो बसाइँ, फोहरमैला आदिका कारण जेलमा बिरामी संख्या बढ्दै गैरहेको छ ।

गत वर्ष सरकारले रु. १८ लाख विनियोजन गरे पनि खर्च रु. २० लाखसम्म भएको थियो । चालू आव २०७६÷०७७ मा पठाएको रु १३ लाख खर्चबाट गत वर्षको रु. दुई लाख औषधीको बक्यौता तिरेकाले बाँकी रु. ११ लाखले मुस्किले छ महिना धान्ने बताइएको छ ।

कैदीबन्दीमा प्रायःजसो छाला र भाइरल फिबरको समस्या बढी देखिने गरेको छ । कैदीबन्दीहरुलाई पाथीभरा अस्पतालको विशेषज्ञ चिकित्सकको टोलीले महिनामा एकपटक कारागारमा आएर निःशुल्क स्वास्थ्य जाँच गगर्ने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्