विद्यालय जाँदा स्वस्थ, घर फर्किँदा बिरामी



काठमाडौं : हाँसीखुशी विद्यालय गएका आयुष भट्ट घर फर्किँदा बिरामी भए, सुरुमा टाउको दुख्यो। त्यसपछि ज्वरो आयो। कक्षा ५ मा अध्ययनरत छोरा रुँदै घर फर्किएपछि आमा कोपिलालाई चिन्तित भइन्।

 

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ,  छोरालाई कान्ति अस्पताल ल्याएकी  उनले भनिन्, ‘घरबाट निस्किँदा राम्रै थियो। फर्किँदा बिरामी पो भयो।’ नर्सरीमा पढ्ने सोनाक्षी गुप्तालाई पनि स्कुलमा ज्वरो आएपछि उनकी आमा उपचार गराइरहेकी छिन्।

 

जाडोका वेला विद्यालय गएका बालबालिका बिरामी भएर फर्किने क्रम बढेको छ। उनीहरूलाई रुघाखोकी, भाइरल, निमोनिया, डायरिया र ब्रोङ्काइटिसले सताउने गरेको कान्तिका प्रमुख बालरोग विशेषज्ञ डा.कमलराज शर्मा बताउँछन्।

 

रोग प्रतिरोधात्मक क्षमता न्यून भएका कारण पनि जाडोमा बालबालिकालाई चिसोसम्बन्धी रोगले सताउँछ। स्वास्थ्यका दृष्टिले जाडोमा बालबालिका बढी जोखिममा रहने शर्मा बताउँछन्। चिसोका वेला विद्यार्थीलाई एउटै कोठामा गुजुमुज्ज पारेर राख्ने कारण एउटामा भएको भाइरस विा ब्याक्टेरिया अर्कोमा सर्ने खतरा रहन्छ।

 

प्रतिक्रिया दिनुहोस्