भिभिआइपीलाई हेलिकोप्टर : खरिद प्रक्रियामै त्रुटि, अस्वाभाविक महँगो



 काठमाडौं: भिभिआइपी उडानका लागि भन्दै भित्र्याइएको अगस्टा वेस्टल्यान्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि भेटिएको छ । काठमाडौं आइपुगेको उक्त हेलिकोप्टर भिभिआइपीको सवारीका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो ।

 

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले चढ्ने उक्त हेलिकोप्टर किन्न सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरो (हालको एक अर्ब ८१ करोड रुपैयाँ) मा खरिद सम्झौता गरी प्रतीतपत्र खोलेको थियो। सेनाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ विपरीत प्रतिस्पर्धाबिनै बोलपत्र स्वीकृत गरेर हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको थियो। २०७३ असार १६ को मन्त्रिपरिषद्को बैठकले प्रतिस्पर्धा सुनिश्चित हुनेगरी हेलिकोप्टर खरिद गर्न सेनालाई अनुमति दिएको थियो ।

 

नेपालको सार्वजनिक खरिद ऐन २०६३ को दफा ४ (३) अनुसार कुनै खास उत्पादक कम्पनीबाट निर्मित सामान गरिद गर्नेगरी ‘स्पेसिफिकेसन’ तयार गर्न नहुने उल्लेख छ। ऐनअन्तर्गतकै नियमावली २०६४ को नियम ११ मा चालु वा अघिल्ला वर्षमा खरिद गर्दा लागेको वास्तविक लागत, स्थानीय वा अन्य बजारको प्रचलित दरभाउ र ढुवानी खर्चसमेतको आधार लिई लागत अनुमान तयार पार्नुपर्ने व्यवस्था छ। अगस्टा वेस्टल्यान्ड खरिद गर्दा भने इटालीको कम्पनीले उपलब्ध गराएको मूल्यलाई मात्र आधार मानिएको र खरिद प्रक्रियामा प्रतिस्पर्धा नदेखिएको टिप्पणी महालेखाले गरेको थियो ।

 

 महालेखाले बोलपत्र मूल्यांकन समितिले पर्याप्त अध्ययन र परीक्षण नगरी हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको औंल्याउँदै सम्बन्धित अधिकारीलाई कारबाही गर्न सुझाएको थियो । सेनाले उक्त हेलिकोप्टरसँगै सञ्चालनमा क्षमता अभिवृद्धि गर्ने चार किसिमका अतिरिक्त उपकरणसमेत खरिद गर्ने निर्णय गरेको थियो। ती उपकरणको मूल्य तीन लाख ८६ हजार दुई सय युरो छ। योजनामै नभएका ती उपकरण खरिद गरिएको भनेर पनि महालेखाले प्रश्न उठाएको थियो। सेनाले हेलिकोप्टर खरिदका लागि छुट्याएको मध्ये बचत रकमले ती उपकरण खरिद गर्ने निर्णय गरेको थियो ।

 

हेलिकोप्टर खरिदका लागि कम्पनीको स्थानीय एजेन्ट नभएको बताइए पनि खरिदका लागि बोलपत्रसँगै पेस गरिएका कागजातमा भने काठमाडौंकै एक फर्म एजेन्टका रूपमा देखिएको थियो। वाणिज्य विभागले २०७३ असोज १६ मा कागजात परीक्षण गर्दा यो तथ्य भेटिएको थियो ।

 

तर उक्त एजेन्टले पाउने कमिसन, मुद्रा, कर चुक्ता प्रमाण भने दस्तावेजमा समेटिएको थिएन । प्रक्रिया कमजोर हुँदाहुँदै पनि उक्त हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाइएको थियो। महालेखाले बोलपत्र मूल्यांकन समितिले पर्याप्त अध्ययन र परीक्षण नगरी खरिद प्रक्रिया अघि बढाइएको भन्दै सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न सुझाएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्