दशैंमा मौलायो यौनधन्दा



काठमाडौं : दशैंको मौका छोपेर काठमाडौं उपत्यकामा हुन सक्ने चोरी, लुटपाटको नियन्त्रण र सवारी आवागमनको व्यवस्थापनमा जोड दिइरहेको प्रहरीलाई काठमाडौंमा हुँने देहव्यापारले चुनौती थपेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका एक प्रहरी अधिकारीका अनुसार पछिल्ला दिनहरुमा देहव्यापारसँग जोडिएर अपराधिक घटनाहरु पनि बढेका छन् ।

एकातिर घर फर्किदा धेरै रकम र किनमेलका निम्ति रकमको आवश्यकता पर्ने हुँदा देहव्यापार फस्टाएको छ भने यससँग जाडिएर ठगीका घटनाहरु पनि भइरहेका छन् ।

राजधानीका विभिन्न ठाउँमा देहव्यवसायका लागि फ्ल्याट नै लिएर धन्दा चलाइएको छ । एक प्रहरी अधिकारीका अनुसार फ्ल्याटमा हुने यस्तो धन्दा तुलनात्मक रुपमा सुरक्षित ठानेर मानिसहरु आकर्षित भएका छन् । यसो त राजधानीका कतिपय स्थानका होटलहरुले दिउँसो समेत यस्तो धन्दा चलाउँदै आएका छन् । प्रहरी दशैंको मुखमा हुने चोरी, लुटपाटको नियन्त्रण र सवारी व्यवस्थापनमा लाग्दा देहव्यापार भित्रभित्रै बढिरहेको छ ।

अहिले दशैंको सुरक्षामा ध्यान पुर्याइरहेको प्रहरीले त्यतातर्फ ध्यान नदिँदा यही अवसरलाई छोपेर यो धन्दा मौलाइरहेको छ । दशैं मनाउन घर जाँदा राम्रै आम्दानी जम्मा गरेर जानका लागि यो धन्दा अंगाल्दै आएका युवतीहरु आफ्नो गैह्र कानुनी रुपमै यो पेशालाई बढावा दिइरहेका छन् ।

आफ्नो नाम नबताउने सर्तमा यो धन्दामा संलग्न एक युवतीले यो बेला आफूहरुलाई पनि दशैं लागेको बताइन । उनी भन्छिन्– ‘‘हामीलाई पनि त दशैं लाग्छ । दशैंमा किनमेल पनि गर्नुपर्छ, घर जाँदा अलिअलि पैसा बोक्नैपर्यो । यो बेला मानिसहरुसँग पैसा हुने हुँदा मोजमस्ती गर्न चाहन्छन् भने हामीलाई पनि पैसाको आवश्यकता छ । अहिले यो बेलामा प्रहरीको ध्यान अन्यत्रै हुने हुँदा यो काम गर्न पनि सुरक्षाका हिसाबले सजिलो छ ।’

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले प्रहरीले सुरक्षासँग जोडिएका र गैह्र कानुनी धन्दा सबैमा त्यत्तिकै ध्यान पुर्याउदै आएको बताए ।

अहिले काठमाडौंमा खोलिएका सानादेखि ठूला होटलमा खुलेआम यौन धन्दा सञ्चालन हुने गरेको तथ्य प्रहरीसँग छ । यो कुरा विभिन्न समयमा प्रहरीले छापा मार्ने क्रममा खुल्दै आएको छ ।

यौन धन्दामा सक्रिय रहेका रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिलाले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्बन्ध राख्ने गरेको कुरा एक प्रतिवेदनले देखाएको छ । केही समयअघि एक गैह्रसरकारी संस्थाले काठमाडौं सहरी क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो ।

सो अध्ययन प्रतिवेदन अनुसार यस्तो पेशा अंगाल्नेहरुको अवस्था निकै दयनीय र कारुणिक रहेको छ । काठमाडौंको काटेश्वर क्षेत्रमा सञ्चालित होटेल, बार, डिस्को, दोहोरी, क्याविनमा कार्यरत एक सय जना महिला तथा बालबालिकामा गरिएको सर्वेक्षणले यो क्षेत्रमा काम गर्नेहरु जोखिममा रहेको पनि बताएको छ ।

जसमध्ये जातिय हिसावले आदिवासी, जनजाति क्षेत्रका महिलाहरुको संख्या धेरै रहेको पाइयो देखाएको छ । यसपछि क्षेत्री–बाहुन र कम मात्रामा दलित रहेको पाइएको छ ।

काठमाडौं उपत्यका कतिपयले आर्थिक उन्नतीको सपना देखेर प्रवेश गर्ने र त्यसरी उन्नती नहुँदा यस्तो पेशा अंगाल्न वाध्य भएको बताउँछन् । आर्थिक अवस्था, पारिवारिक समस्या र साथिभाईको संगतले गर्दा यो पेशामा लाग्नु परेको बताइन्छ । यसरी प्रवेश गर्ने युवतीहरुको पहिलो र सहज रोजाइमा रेष्टुरेन्ट तथा होटल क्षेत्र हुने गरेको पाइएको छ ।

भट्टीका रूपमा परिचित खाजाघरबाट क्याविन, होटल र गेष्टुरेन्ट हुँदै उनीहरू डिस्कोसम्म पुग्छन् । यसक्षेत्रमा कार्यरत ३७ प्रतिशत महिलाले अवैध र असुरक्षित सम्बन्धका कारण जन्मेको बच्चाकोे बाबुसमेत भन्न नसक्ने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । यस्तो क्षेत्रमा काम गर्ने महिलाले दैनिक १६ घण्टा काम गर्ने गरेका छन् भने करिब मासिक १० हजार रुपैयाँसम्म तलव पाउने गरेको प्रतिवेदनले देखाएको छ ।

यो कुरालाई गत जेठ २ गते गोंगबुबाट २८ जना यौनकर्मी पक्राउ गरिएको घटनाले पनि पुष्टि गर्छ । गोंगबुको बिजी मल नजिकै सञ्चालित पुजा रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेका थिए । अहिले पनि नयाँ बसपार्कभित्र रहेको गेष्ट हाउसमा यौनकर्मी राख्ने र ग्राहक आएपछि फोन गरेर बोलाएर गरेको पाइएको छ ।

नयाँ बसपार्क क्षेत्रमा सञ्चालित गेष्ट हाउसमा बस्न आउनेहरुलाई यौनकर्मी मिलाईदिने एउटा गिरोह नै सक्रिय छ । जसले ग्राहक खोज्दै यौनकर्मी भिडाउने गर्दछ । यो गरेबापत उक्त गिरोहले कमिसन लिने गर्दछ । विशेष गरी होटल र ग्राहकबाट गिरोहले कमिशन लिने बताइन्छ । होटलवालाहरुले यो गिरोहलाई निश्चित कमिशन छुट्याएका हुन्छ ।

प्रतिक्रिया दिनुहोस्