प्रजिअ कँडेलले जस्तै काम गरे प्रदेश २ नमुना बन्ने



जनकपुरधाम : प्रदेश २ का कानुन मन्त्री ज्ञानेन्द्र यादवले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले झैँ सबैले सुधारवादी काम गर्न सके प्रदेश २ लाई नमुना प्रदेश बनाउन सकिने बताएका छन् ।

हिजो जनकपुरस्थित जिल्ला प्रशासन कार्यालय प्रांगणमा केडिया समूहले निर्माण गरिदिएको वहुउदेशीय जेष्ठ नागरिक तथा अपांगमैत्री केडिया कक्षको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

कार्यक्रममा ज्ञान र शिप मात्रै भएर मात्रै परिवर्तन गर्न नसकिने बताउँदै मन्त्री यादवले समाज परिवर्तन गर्न ईच्छाशक्तिको पनि आवस्यकता हुने बताउँदै प्रजिअ कँडेलमा समाज परिवर्तन गर्ने ईच्छाशक्ति भएको भन्दै प्रशंसा गरे ।

धनुषा आएको छोटै समयमा वाहाँले जसरी जिल्ला प्रशासन कार्यालयमा सुधार ल्याउनु भएको छ , कानुमन्त्री यादवले भने , त्यसरी नै प्रदेशका सबै जिम्मेवार कर्मचारी , नेता , मन्त्री र समाजसेवीले अग्रसरता देखाउने हो भने प्रदेश २ नमुना प्रदेश बन्ने छ । सिडियो कार्यालयमा आमुल परिवर्तन ल्याएकोमा मन्त्री यादवले प्रदेश सरकारको तर्फबाट प्रजिअ कँडेललाई धन्यवाद समेत दिए ।

धनुषाका प्रदेशसभा सदस्य परमेश्वर साहले पनि सिडियो कार्यालयमा आएको सुधारबारे गाउँगाउँमा चर्चा हुन थालेको बताउँदै प्रजिअ कँडेलले झैँ सबै सरकारी कार्यालयको प्रमुखले सिको गर्नु पर्ने बताए ।

कार्यक्रममा विनोद केडियाले पनि प्रजिअ कँडेलको सुधारवादी कार्यको प्रशंसा गर्दै देशका ७७ जिल्लामै केडिया समूहले जेष्ठ नागरिक कक्ष बनाउने योजना भएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केडिया अर्गनाईजेसनका अध्यक्ष हिरालाल केडिया लगायतलाई सम्मान गरिएको थियो ।

जनकपुरमा निर्मित जेष्ठ नागरिक कक्ष महाविर प्रसाद , वृजलाल र शंकरलाल केडियाको स्मृतीमा बनाईएको केडिया अर्गनाईजेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्