पदाधिकारी थप्न देउवा लचक



 काठमाडौं : नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पार्टी पदाधिकारी संख्या थपका विषयमा लचक देखिएका छन् । पदाधिकारी संख्या थपको विपक्षमा रहँदै आएका देउवा पार्टी विधानमा सहमति जुटाउनका लागि पदाधिकारी संख्या थप गर्न लचक भएका हुन् ।

 

तर पदाधिकारी चयनका विषयमा पार्टी संस्थापन पक्ष र असन्तुष्ट पक्ष आआफ्नो अडानमा कायमै रहँदा सोमबार अबेरसम्म पनि विधानको मस्यौदामा सहमति जुट्न सकेको छैन। सभापति देउवा एकएक उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनीत गर्नुपर्ने पक्षमा छन् भने असन्तुष्ट पक्ष सबै पदाधिकारी महाधिवेशनबाटै चयन हुनुपर्ने अडानमा छन् ।

 

पार्टी विधानमा रहेको असमझदारी हटाउने कांग्रेसका शीर्ष नेताहरूको प्रयास सोमबार पनि सफल हुन सकेन। महासमिति बैठक उद्घाटन भएको तेस्रो दिन सोमबार रातिसम्म विधानमा सहमति प्रयासलाई जारी राखे पनि पदाधिकारी संख्याका विषयमा नेताहरूबीच सहमति जुट्न नसकेको हो ।

 

सहमितका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष पदाधिकारी संख्या थप गर्न सकारात्मक देखिए पनि असन्तुष्ट पक्ष सबै पदाधिकारी महाधिवेशनबाटै चयन हुनुपर्ने अडानमा रहेकाले सहमति जुट्न नसकेको हो। सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएका थिए ।

 

उपसभापति, महामन्त्री र सहमहामन्त्री दुईदुईजना राख्ने आइतबारको समझदारीमा नेताहरू नअडिएपछि सोमबारको बैठकमा सभापति देउवाले असन्तुष्ट पक्षको मागअनुसारै उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या तीनतीन गर्ने प्रस्ताव गरेका थिए । असन्तुष्ट पक्षले उपसभापति, महामन्त्री र सहमहामन्त्री एकएकजना सभापतिले मनोनीत गर्ने र बाँकी दुईदुई पद समावेशी आधारमा निर्वाचित गर्ने व्यवस्था राख्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा पौडेलसहितका नेताहरू सकारात्मक देखिए पनि नेता अर्जुननरसिंह केसी र रामशरण महतले विमति राखेका थिए। सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडान उनीहरूको थियो ।

 

सभापतिको उक्त प्रस्तावमा छलफल जारी रहेका बेला बैठकमा पुगेका महामन्त्री शशांक कोइरालाले दुई उपसभापति, तीन महामन्त्री र चार सहमहामन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए। नेता प्रदिप गिरीले सहमहामन्त्रीको संख्या एक थप गरेर पाँच बनाउन प्रस्ताव गरेका नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्