डा. केसीको अनशन दुई साता पछि सर्‍यो



काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसीले २ पुसबाट सुरु गर्ने भनेको सत्याग्रह दुई साता पर धकेलिएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक अघि बढाउन केही दिन समय लाग्ने जानकारी दिएपछि केसीको अनशन १७ पुसमा पुगेको हो ।

विगतमा भएको सम्झौताबमोजिम विधेयक अघि बढाउन समितिलाई सहज होस् भनी अनशनको समय सारेको केसीले बताए । डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै पन्ध्रौँ सत्याग्रहमा भएको सम्झौताअनुसार सबै माग पूरा नभए १७ पुसदेखि १६औँ अनशन थाल्ने घोषणा गरेका छन् ।

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसहित बाँकी मागसमेत पूरा गर्न स्मरण गराउँदै घोषित सत्याग्रहलाई दुई साता पछि सारेका छौँ । यसबीचमा विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुईपल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरूभन्दा प्रतिकूल हुने गरी चलखेल भए कुनै पनि वेला सत्याग्रह सुरु हुन्छ,’ केसीले विज्ञप्तिमार्फत भनेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्