उपसभामुखहरुको एकै स्वर, ‘महिला भनेर हेपियो’



काठमाडौं: सातवटै प्रदेशका उपसभामुखहरूले पद दिइए पनि अधिकार नदिएर आफुहरूलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरूले यस्तो गुनासो गर्दै लामो सङ्घर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोप समेत लगाए ।

 

प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताइन् । उपसभामुखहरूले सभामुखको अनुपस्थितिमा मात्र बैठक चलाउनुपरेको, सभामुख बिरामी हुँदा, बाहिर जाँदा वा बिदा बस्दासमेत मागेरै बैठक चलाउन परेको, कर्मचारी नभएको, मर्यादाक्रम नमिल्दा कार्यक्रममा सहभागी हुन नपाएको जस्ता गुनासा गरेका थिए ।

 

महिलाहरु कमजोर हुन्छन् भन्ने चिन्तन चिर्न आवश्यक रहेको बताउँदै प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले भनिन्– ‘कहिलेकाँही राती फोन गर्दा र सँगै फोटो खिच्दा पनि शंका गरिन्छ, हामी नै न्याय माग्न कहाँ जाने ?’

 

प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलले कर्मचारीको अभाव ठूलो समस्या भएको बताइन् । ३ तहबीच समन्वय नहुँदाको अलमल फुकाउन संघीय सरकारले पहल गर्नुपर्ने उनको सुझाव थियो । उपसभामुख पोखरेलले प्रदेशको मुख्य सचिवभन्दा आफ्नो मर्यादाक्रम तल रहेकोमा आपत्ति जनाएकी समाचारपत्रमा खवर छ ।  

प्रतिक्रिया दिनुहोस्